२० असार २०८३, शनिबार

जनकपुरको राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि !

असोज २०, २०७६
जनकपुरको राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि !

जनकपुरधाम – जनकपुरधामको प्रसिद्ध शक्तीपिठ राजदेवी मन्दिरमा यसवर्ष १४ हजार ६ सय ३३ वटा बोकाको बलि प्रदान गरिएको छ । बोका बलिको व्यवस्थापन गर्दै आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोषकुमार साहका अनुसार महाअष्टमीको राति ८ बजेदेखि शुरू भएको बलि प्रदान सोमवार बिहान साढे ३ बजेसम्म गरिएको थियो । 

बलि प्रदानका लागि मन्दिरमा ४ वटा ठेहाको व्यवस्थापन गरिएको थियो । प्रति १ मिनेटमा औसत ३३ वटा बोकाको बलि प्रदान गरिएको थियो । आधा–आधा घण्टामा प्रत्येक ठेहामा बोका काट्ने मानिस परिवर्तन गर्ने गरिन्थ्यो । स्थानीय महावीर युवा कमिटी र राम युवा कमिटीले उक्त कार्यका लागि व्यवस्थापन गर्दै आएका छन् । बोका बलि व्यवस्थापनका लागि जनकपुरका १ हजारभन्दा बढी युवा स्वयंसेवकको रूपमा परिचालित भएको साहले बताए ।

पछिल्लो १० वर्षमा बोका बलिको संख्या बढ्दै गएको भएपनि यस वर्ष केही कमी आएको छ । २०६५ सालमा ११ हजार १ सय ३४, २०६६ सालमा १३ हजार ७ सय ९०, २०६७ सालमा १३ हजार ५ सय ५२, २०६८ सालमा १२ हजार ५ सय ६९, २०६९ सालमा १४ हजार ७ सय ५४, २०७० सालमा १४ हजार ७ सय २१ बोकाको बलि प्रदान गरिएको थियो । 

त्यसैगरी २०७१ सालमा १५ हजार ४ सय ६१, २०७२ सालमा १३ हजार ८ सय १, २०७३ सालमा १४ हजार ६ सय १७, २०७४ सालमा १२ हजार ४ सय ४७, २०७५ सालमा १४ हजार ९ सय ९७ र २०७६ सालमा १४ हजार ६ सय ३३ वटा बोकाको बलि प्रदान गरिएको छ ।

बोका बलि प्रदान गर्नु भनेको हिंसा भएकाले बलि प्रथा अन्त्य गर्नुपर्ने बहसको विषय भएपनि संख्या भने घटेको छैन । राजदेवी मन्दिरमा मात्र एक रातमा मात्र १४ हजारभन्दा बढीको संख्यामा बोकाको बलि प्रदान हुँदै आएको छ । 

‘बोका बलि प्रदान अन्त्य हुनुपर्छ भन्ने आफ्नो मान्यता पनि छ,’ महावीर युवा कमिटीका संस्थापक अध्यक्ष अरुण कुमार साहले भने, ‘म आफैं पनि शाकाहारी हो, तर भाकल गरेर मानिसहरू आस्थाका आधारमा बोका बलि प्रदान गर्न आउने गरेकाले रोक्न पनि नसकिने अवस्था छ ।’ 

दुई दशकअघि ४ सयदेखि ५ सयको संख्यामा मात्र बोकाको बलि प्रदान हुन्थ्यो, तर अहिले यति ठूलो संख्यामा बलि प्रदान हुनुको कारण अब फेसन समेत बनेको छ । भाकल नभएपनि घरमा खसी(बोका)को मासु खानु नै छ भने राजदेवी मन्दिरमा बलि प्रदान गरेर नै खाने भन्ने चलन बढ्दै गएका कारण संख्या बढेको राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर बताउँछन् । 

राजदेवी मन्दिरमा बोका बलि प्रदान गर्नका लागि जनकपुर शहरबाट मात्र नभएर धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लाका ग्रामिण क्षेत्रबाहेक छिमेकी मुलुक भारतको बिहारका कतिपय गाउँबाट समेत मानिसहरू आउने गरेका छन् ।

बोका बलिका लागि आयोजक युवा कमिटीले प्रतिबोका २ सय रुपैयाँ असुल गर्ने गरेका छन् । ‘पहिले–पहिले बोकाको टाउको भने पूजारीले नै राख्ने गथ्र्यो, महावीर युवा कमिटीका पूर्वअध्यक्ष धर्मेन्द्र साहले भने, ‘तर हामीले २ सय रुपैयाँ लिएर टाउको समेत फिर्ता गरिदिने गरेका छौं ।’ यसवर्ष २९ लाख २६ हजार ६ सय रुपैयाँ बोकाबाट मात्र राजस्व असूल गरिएको छ । 

‘१० प्रतिशत रकम राजदेवी मन्दिरको जिर्णोधार कोषमा जम्मा हुने गर्छ भने केही रकम बोका बलिका लागि काम गर्ने कर्मचारीलाई गुठी संस्थानले खर्च गर्छ,’ महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले भने, ‘बाँकी बचेको रकम राम युवा कमिटी र महावीर युवा कमिटीमा आधा–आधा बाँडेर लिने गरिएको छ ।’

ती युवा क्लबहरूले दशैंको व्यवस्थापन तथा सजावटका लागि विभिन्न व्यापारीदेखि स्थानीय नागरिकबाट समेत चन्दा असुल गर्ने गर्छन् । यसबाहेक मेला समेत ठेक्कामा लगाएर आम्दानी गर्ने गर्छन् ।

महाष्टमीका दिन भएको उक्त बलि प्रदान हेर्न नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहित विभिन्न पार्टीका नेताहरू, समाजका अगुवाहरू पुगेका थिए । 

महाष्टमीका दिन बिहान राजदेवी मन्दिरमा अलड़दु तथा नरिवलको प्रसाद चढाउन मात्रै डेढ लाखभन्दा बढीको संख्यामा भक्तजनहरू आएको महावीर युवा कमिटीका अध्यक्ष साहले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्