
काठमाडौं – भारतका एक व्यक्तिले जागिरका लागि अन्तर्वार्ता दिने क्रममा ठगी गरेको अनौठो घटना सार्वजनिक भएको छ । उनले क्यामराका अगाडि लिपसिंक गरेका थिए भने अर्कै व्यक्तिले उत्तर दिएका थिए ।
यो अनौठो क्लिप हालै मात्र अन्लाइनमा देखिएको हो । त्यसमा भारतीयले मुख हल्लाएको देखिन्छ तर ओठ हल्लाएको गति शब्दसँग मेल खाँदैन ।
उनले फलोअप प्रश्नको उत्तर दिन शुरू गर्छन् तर लर्बरिन्छन् । अनि जागिर दिने व्यक्ति हाँस्छन् र उनलाई रोक्छन् ।
अन्तर्वार्ता लिने व्यक्तिले भन्छन्, ‘पर्ख, पर्ख । तिमीले बोलेको जस्तो लागेन । कोही अरू नै यहाँ बोलिरहेको छ र तिमी लिपसिंक मात्र गरिरहेका छौ ।’
यो सुनेपछि जागिर खान खोज्ने व्यक्तिले नाक कन्याउँछन् र ठगी समातिएको थाहा पाउँदा पनि पश्चात्तापको भाव देखाउँदैनन् ।
उनी टाउको हल्लाउँछन् र टाँक खेलेको देखिन्छ ।
प्रश्न गर्नेले जागिर खान खोज्नेको आवाज अनि अर्को मान्छेको आवाज पनि सुनेको बताउँछन् ।
उनले थप्छन्, ‘तिमीलाई रंगेहात पक्रिएँ । मैले पहिल्यै तिमीलाई भनेको थिएँ, यो पदमा तिमीलाई अरूले काम अह्राएर तिमीले काम गर्ने हैन । यो सिनियर पद हो जसमा तिमीले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’
यो सुनेपछि जागिरका उम्मेदवार निराश हुन्छन् र टाउको झुकाएर खुइय गर्छन् ।
एजेन्सी