काठमाडौं – पाकिस्तान सरकारको कामकाजमा सेनाको दखल बढिरहेको देखिएको छ ।
केही दिनअघि व्यापारीहरूसँग बैठक गरेका पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवा प्रधानमन्त्री इमरान खानसँगै चीन पनि पुगेका छन् । आर्थिक क्षेत्रमा हस्तक्षेपका साथै सेनाप्रमुखले परराष्ट्र मामिलामा पनि दखल दिन थालेको विश्लेषण गरिएको छ ।
सन् १९४७ मा देश बनेदेखि अहिलेसम्म पाकिस्तानमा तीनपटक सैन्य कू भइसकेको छ । इतिहासको आधा भागको शासन सेनाले नै चलाएको छ । अहिलेका परिस्थितिले पनि सेना एकपटक फेरि सत्ताको कमान्डमा आउन लागेको देखिन्छ
इमरान खानको चीन भ्रमणमा जनरल बाजवा पनि शीर्ष नेताहरूसँगको महत्त्वपूर्ण भेटघाटमा संलग्न रहे । तीन वर्षको सेवाअवधि बढाएका जनरल बाजवा अब सरकारका निर्णयहरूमा निकै रुचि लिइरहेका छन् ।
मंगलवार चीनका प्रधानमन्त्री ली खस्याङ तथा सेन्ट्रल मिलिटरी कमिसनकम भाइस चेयरम्यानसँग इमरान खानको बैठकमा बाजवा उपस्थित थिए । बैठकहरूमा दुई देशको सैन्य सम्बन्धका विषयमा चर्चा भएको छ ।
यसअघि संयुक्त राष्ट्रसंघ महासभा बैठकमा पनि जनरल बाजवा इमरान खानसँगै गएका थिए ।
एजेन्सी