काठमाडौं, २१ चैत– तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्तिबजारका अग्निपीडितका लागि तेह्रथुम घर भइ काठमाडौँमा कार्यरत नेपालीबाट राहतस्वरुप करिव रु १२ लाख सङ्कलन भएको छ ।
काठमाडौँस्थित तेह्रथुम सरोकार समाज, र सिटौला सेवा समाजले सङ्क्रान्तिबजारका अग्निपीडितका लागि हालसम्म ११ लाख ८६ हजार ९५२ सङ्कलन गरेका हुन् ।
सङ्कलित रकममध्ये तेह्रथुम सरोकार समाजबाट ८ लाख ४४ हजार ६२ र सिटौला सेवा समाजबाट तीन लाख ४२ हजार आठ सय ९० रुपैयाँ सङ्कलन भएको राहत सङ्कलन समितिका संयोजक मोहनकुमार डाँगीले जानकारी दिए ।
अभियानकै रुपमा सङ्कलित राहत रकम चैत २६ गते वितरण भएकाले अझैपनि कोही इच्छुक भए सम्पर्क गर्न उनले आग्रह गरे ।
सो अभियानमा हालसम्म सबैभन्दा धेरै कमलमणि दीक्षित परिवार ललितपुरबाट २ लाख, तेह्रथुम सरोकार समाजका अध्यक्ष विजय सम्बाहाम्फेबाट ५१ हजार, मोहनकुमार डाँगी ह्वाकुबाट ५१ हजार, सुमन पौडेल ह्वाकुबाट ५१ हजार प्राप्त भएको छ ।
यस्तै नारायणप्रसाद खनालबाट रु ५१ हजार, डा ओमकृष्ण सिटौलाबाट रु ५१ हजार, स्व पदमलाल सिटौला परिवारबाट रु ५१ हजार, तीनजुरे मिडिया ग्रुपबाट रु ३८ हजार, हरि सिटौला परिवारबाट रु ३० हजार र युवराज डाँगी ह्वाकुबाट रु २६ हजार पाँच सय ५१ प्राप्त भएको संयोजक डाँगीले बताए
सङ्कलन भएको राहत रकम जिल्ला दैवीप्रकोप उद्धार समितिले मापदण्ड तयार गरेर वितरण गर्ने तयारी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले बताए । अग्निपीडित परिवारले भने सङ्कलित रकम क्षतिको विवरणको आधारमा वितरण गर्न माग गरेका छन् । आगलागीबाट रु १४ करोड ८ लाख क्षति भएको प्रहरीको तथ्याङ्क छ ।