
जलेश्वर –महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतवार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए।
अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक किलो २४० ग्राम चाँदीका पायल, सिक्री र औँठीलगायतका तयारी गरगहनासहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
चाँदीका गहना र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए।