
काठमाडौं — एक नयाँ अनुसन्धानले अल्छे मानिसको उमेर लामो हुने देखाएको छ ।
जीवविकास अर्थात् इभोल्युसनले अब सर्भाइभल अफ द लेजिएस्टलाई समर्थन गर्ने अध्ययनबाट थाहा हुन आएको हो ।
अनुसन्धानकर्ताहरूले २९९ प्रजातिका आनीबानीको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । अधिक सक्रिय रहने प्रजातिका जीवको मेटाबोलिजम रेट अधिक भएका कारण विलुप्त हुने खतरा रहेको उनीहरू मान्छन् ।
प्रमुख अनुसन्धानकर्ता डा ल्युक स्ट्रजले भने, ‘कुनै प्रजातिले अधिक ऊर्जा खर्च गर्दा पनि विलुप्त हुन सक्छ भन्ने थाहा पाउँदा म आश्चर्यचकित भएँ । तर यो वास्तविकता हो । हामीले मोलस्क प्रजातिका जीवको बारेमा अध्ययन ग¥यौं ।’
मोलस्क प्रजातिमा शंखेकीरा पर्छन् । उनीहरू समुद्र किनारमा चुपचाप बसिरहन्छन् । मोलस्क प्रजातिका सक्रिय जीव ५० लाख वर्षअघि लोप भए र अहिले पाइने प्रजाति अल्छी जस्तो चुपचाप बसिरहन्छ । यिनीहरूको मेटाबोलिजम
दर एकदमै कम छ । त्यसबाट नै अनुसन्धानकर्ताहरूले मेटाबोलिजम रेट बढी हुने प्रजाति अल्छी जीवको तुलनामा कम बाँच्ने निष्कर्ष निकाले ।
लामो समयसम्म जीवित रहनका लागि मानिसले अधिक सक्रिय नभई अल्छे बन्ने सल्लाह दिन सकिने अनुसन्धानसँग जोडिएका प्राध्यापक ब्रुस लिभरम्यानले बताए ।
यो अध्ययन प्रोसीडिङ्स अफ द रोयल सोसाइटीमा प्रकाशित छ ।
एजेन्सी