०१ असार २०८३, सोमबार

यसकारण नगरौँ प्लास्टिक झोलाको प्रयोग

असोज २८, २०७६
यसकारण नगरौँ प्लास्टिक झोलाको प्रयोग

काठमाडौं –   दैनिक जीवनमा हामीले प्लास्टिकबाट बनेका विभिन्न सामान प्रयोग गरिरहेका हुन्छौँ, खासगरी प्लास्टिकका झोला ।

असन्तृप्त हाइड्रोकार्बन इथिनलाई रासायनिक प्रतिक्रियामा रूपान्तरण गरी कृत्रिम तरिकाले बनाइने हुनाले रासायनिक भाषामा यसलाई ‘पोलिइथिलिन’ भनिन्छ, यो पर्यावरणका लागि निकै हानिकारक हुन्छ । 

नेपालमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको वातावरण विभागले ०७२ देखि नै प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाएको छ, तर अझै पनि यसको प्रयोग रोकिएको छैन । प्लास्टिक झोला प्रयोग गरिएमा वातावरण संरक्षण ऐन २०५३ र फोहरमैला व्यवस्थापन ऐन २०६८ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । तर, यो व्यवस्था अहिलेसम्म लागू भइसकेको छैन ।

संकलित फोहरबाट हाल झन्डै ७० प्रतिशतभन्दा बढी प्लास्टिकजन्य वस्तु निस्किने गरेको छ । प्लास्टिक झोला, खासगरी एकचोटि मात्रै प्रयोग गरिने र निकै पातलो हुने भएकाले पुनः प्रयोग गर्न गाह्रो हुन्छ । 

 फोहोर
हिजोआज फोहरको मुख्य स्रोत प्लास्टिक झोला बनिरहेको छ । बाटोमा जथाभावी यस्ता झोला फाल्दा प्रदूषण निम्तिन्छ । यो नकुहिने भएकाले फोहर व्यवस्थापन गर्न पनि चुनौती छ । खोलानालामा प्लास्टिक बगाइने गरिन्छ, जुन बिस्तारै समुद्रमा पुग्ने गरेको छ । विश्वका कतिपय देशमा प्लास्टिककै कारण बाढी आउने, पानी जम्मा हुने आदि समस्या देखिन्छन् । 

प्लास्टिक पूर्ण रूपमा कुहिएर नष्ट हुनका लागि चार सय वर्ष लाग्ने गर्छ । त्यतिवेलासम्म टुक्रिएर जमिन वा पानीमा रहने गर्छ । बर्सेनि लाखाैँ जीवजन्तु प्लास्टिकमा अल्झिएर वा यसलाई खाएर मर्ने गर्छन् । 

उर्वराशक्तिमा कमी
लामो समयपछि प्लास्टिक टुक्रिन्छ, तर पूर्ण रूपमा निर्मूल हुँदैन । जसकारण उर्वर शक्ति नाश भइरहेको हुन्छ । माटोमा विभिन्न रसायन मिसिने भएकाले उर्वरशीलतामा कमी आउने गरेको हो, यसरी माटोमा मिसिएका रसायनले त्यहाँ उत्पादन हुने खानेकुराको माध्यमबाट हाम्रो स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुन्छ । 

वायु प्रदूषण
प्लास्टिक बाल्दा नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्जिन, बाफिलो प्रांगारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास उत्पादन हुन्छ । खासगरी पिबिसी नामक प्लास्टिकबाट उत्पन्न ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।  

जल प्रदूषण
प्लास्टिक पूर्ण रूपमा कुहिएर नष्ट हुनका लागि चार सय वर्ष लाग्ने गर्छ । त्यतिवेलासम्म टुक्रिएर जमिन र पानीमा रहने गर्छ । बर्सेनि लाखौँ जीवजन्तु प्लास्टिक खाएर वा यसैमा अल्झिएर मर्ने गर्छन् ।

ढलमा समस्या र पानीमा अत्यधिक फोहर भएका कारण सबैभन्दा पहिले बंगलादेशमा प्लास्टिक प्रयोग र उत्पादनमा रोक लगाइएको थियो । समग्र खाद्यान्न चक्र र पर्यावरणमा असर गर्ने भएकाले हामीले प्लास्टिकको प्रयोग कम गर्न जरुरी छ ।  वातावरणविद् भूषण तुलाधरको यो लेख नयाँ पत्रिकामा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्