०३ साउन २०८३, आइतबार

महरा थप ३ दिन प्रहरी हिरासतमा रहने, अदालतले दियो १३ दिनको म्याद

असोज २८, २०७६
महरा थप ३ दिन प्रहरी हिरासतमा रहने, अदालतले दियो १३ दिनको म्याद

काठमाडौं –संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

१० दिन प्रहरी हिरासतमा गुजारिसकेका महरा थप ३ दिन प्रहरी हिरासतमै रहने भएका छन् ।

यही असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरालाई लामो दशैं बिदाका कारण पक्राउ परेको दशौं दिन मंगलवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् प्रहरीले १३ दिन म्याद थप गर्न माग गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपकराज दाहालको इजलासले १३ दिनकै समय दिएको हो ।

मंगलवार भएको थुनछेक बहसमा महराका तर्फबाट पूर्व महान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अघिवक्ता रमन श्रेष्ठ र मुरारी सापकोटाले बहस गरेका थिए ।

आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । पक्राउ परेपछि उनको सेवासुविधा समेत रोक्का भइसकेको छ ।

महरालाई आरोप लगाउने रोशनी शाही नाम गरेकी महिलाले भने पटक–पटक बयान फेर्दै आएकी छन् ।

फोटो : सुरेन्द्र श्रेष्ठ/लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्