२५ जेठ २०८३, सोमबार

नेकपाको ढिलाइका कारण स्थानीय तहका नेता/कार्यकर्ता जिम्मेवारविहिन

नेकपाको ढिलाइका कारण स्थानीय तहका नेता/कार्यकर्ता जिम्मेवारविहिन

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोकमा हाल जिल्ला कमिटी मात्रै रहेको छ ।

केन्द्रीय पार्टी नेतृत्वले ढिलोगरी अर्थात अन्तिममा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेकाले पनि हालसम्म नगर, गाउँ तथा वडाकमिटी गठन हुन नसकेको हो ।
 
यद्यपि, नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा भने नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता) गोकुलप्रसाद बास्कोटालाई चयन गरेको छ । नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व एकीकृत माओवादीका केन्द्रीय नेता रुकू चौलागाईँ र सचिवमा तत्कालीन एमालेका अध्यक्ष टोकबहादुर तामाङ तोकिएका हुन् ।
 
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत २०७४ जेठ अन्तिम साता पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भए पनि काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महिनापछि मात्रै घोषणा गरिएको छ । तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिस गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको बताइन्छ ।
 
नेकपा केन्द्रीय कमिटीले अन्तिममा अर्थात् ७७औँ जिल्लाका रुपमा यही असोज ९ गते नेकपा जिल्ला कमिटीका पदाधिकारी निर्णय गरेको हो । घोषित नेकपाको काभ्रेपलाञ्चोक जिल्ला कमिटी हाल १२८ सदस्यीय छ । पूर्व एमालेका ६५ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १२८ को काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरिएको हो ।
 
पन्ध्र पूर्वएमाले र दुई पूर्व माओवादी केन्द्रका सदस्य मनोनित गर्ने सहमतिसहित जिल्ला कमिटी घोषणा भएको जिल्ला सचिव तामाङले बताए। उनले भने, 'ढिलोगरी हाम्रो जिल्ला कमिटी घोषणा गरियो, यसकारण स्थानीयस्तरमा कमिटी निर्माण गर्न सकिएको छैन ।' तर, स्थानीयस्तरमा छिटो कमिटी घोषणा हुँदा जिम्मेवारीवोध हुने र पार्टी चलायमान भइदिँदा जिल्ला नेतृत्वले ‘गाइडलाइन’ दिइने तथा प्रचारप्रसार गर्न सजिलो हुने उनको तर्क छ ।
 
नेकपाको स्थानीयस्तरमा कमिटी छिटो घोषणा गर्न प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई पटकपटक दबाब दिएको सचिव तामाङले बताए। 'पार्टी विधि–पद्धतिमा सञ्चालन गर्न तथा सङ्गठित सदस्य नवीकरण र नयाँ सङ्गठित सदस्य बनाउन ढिला भइसक्यो', सचिव तामाङले भने ।

त्यसो त, नवघोषित जिल्ला कमिटीका पदाधिकारीलाई आउँदो कात्तिक २ गते शपथग्रहण गराइने कार्यक्रम रहेको नेकपा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले बताए। उनले भने, 'केही प्राविधिक कारणले नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणामा ढिलाइ भएको हो, घोषणा भइसकेको छ, अब आउने कात्तिक २ गते शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।' काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिकाको १६५ वडा रहेका छन् ।
 
दुई पार्टी एकीकरणपछि नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा (तीनवटै सरकार)मा स्पष्ट बहुमत प्राप्त नेकपा नेतृत्वको सरकारले जनआकाङ्क्षा सम्बोधन गर्ने र आउँदो निर्वाचनमा तीन चौथाइ बहुमत ल्याउने बताएका थिए । उनीहरूले भन्दै आएका छन्, 'एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण बन्यो ।' 

salt training

कमेन्ट गर्नुहोस्