२३ जेठ २०८३, शनिबार

महात्मा गान्धी जातिवादी भएको भन्दै उनको मूर्ति अनावरणको विरोध

महात्मा गान्धी जातिवादी भएको भन्दै उनको मूर्ति अनावरणको विरोध

काठमाडौं – बेलायतको म्यानचेस्टर विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले भारतका स्वतन्त्रता नायक महात्मा गान्धीको मूर्ति हटाइनुपर्ने माग राखेका छन् । गान्धीले काला जातिका मानिसविरुद्ध जातिविभेदपूर्ण धारणा राखेको र अफ्रिकामा बेलायती साम्राज्यको कुकृत्यमा साथ दिएको उनीहरूको आरोप छ । 

गान्धीको नौ फीट अग्लो मूर्ति नोभेम्बर २६ मा म्यानचेस्टर कथीड्रलअगाडि अनावरण गरिने कार्यक्रम छ । म्यानचेस्टर एरिनामा सन् २०१७ मा २२ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि उक्त क्षेत्रमा शान्ति प्रवर्द्धन गर्न गान्धीको मूर्ति स्थापना गरिएको हो । 

उक्त मूर्ति गान्धीको गृहराज्य गुजरातमा रहेको श्रीमद् राजचन्द्र मिसन धरमपुरले दान दिएको हो । 

भारतको स्वतन्त्रता संग्राममा अहिंसक अभियान चलाएको भनी संसारभरि महात्मा गान्धीको स्मरण गर्ने गरिन्छ । 

गान्धी दक्षिण अफ्रिकामा २० वर्षभन्दा बढी बाँचे र बोएर सत्ताले दमन गरेका भारतीयहरूको अधिकारका लागि लडिरहे । 

तर उनको उक्त लडाईंमा देशको काला जातिका मानिसलाई समान व्यवहार गरिनुपर्ने कुरा समावेश गरेनन् । 

इतिहासकार प्याट्रिक फ्रेन्चले सन् २०१३ मा लेखे, ‘गान्धीले अफ्रिकीहरूलाई बेवास्ता गरेर उनी सन्त थिएनन् भन्ने प्रमाणित गरेका छन् ।’

सन् २०१५ मा दक्षिण अफ्रिकाका दुई विज्ञहरूले एउटा पुस्तक प्रकाशन गरेर देशका आदिवासीहरूप्रति गान्धीको दृष्टिकोणको प्रमाण बाहिर ल्याएका थिए । 

उक्त पुस्तकका अनुसार, सन् १८८३ देखि  १९१४ सम्म दक्षिण अफ्रिकामा रहँदा उनले समकालीन काला जातिका अफ्रिकीहरूलाई जनावर, कच्चा र अल्छीपना तथा नांगोपनाका साथ जीवन बिताउने मान्छे भनी चित्रण गरेका थिए । 
उनले बेलायती शासकहरूका अगाडि दक्षिण अफ्रिकामा रहेको भारतीय समुदाय त्यहाँका आदिवासी अफ्रिकीहरूभन्दा माथि रहेको देखाउन खोजेका थिए । 

म्यानचेस्टर सिटी काउन्सिललाई खुलापत्र लेख्दै विश्वविद्यालयका विद्यार्थीहरूले काउन्सिललाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेका छन् । उनीहरूले गान्धी पनि साम्राज्यवादी भएको बताउँदै ह्याशट्याग गान्धीमस्टफल पनि चलाएका छन् । यसअघि घाना विश्वविद्यालयमा पनि गान्धीको मूर्ति हटाउनका लागि यस्तै प्रयास गरिएका थिए । 

श्रीमद राजचन्द्र मिसन धरमपुरले मूर्ति स्थापना गर्ने योजनाको प्रतिरक्षा गर्दै भने, ‘मूर्ति हटाउने आह्वान गान्धीको सीमित व्याख्यामा आधारित भएर गरिएको हो जबकि उनको वीरताका कारण भारतीय र दक्षिण अफ्रिकीहरू स्वतन्त्रता संग्राममा एकजुट भएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्