
काठमाडौं–नेपाली सेनाले एक्सरसाइज क्यम्ब्रीयन पोर्टल २०१९ मा स्वर्णपदक जितेको छ ।
मित्रराष्ट्र संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २४ गतेबाट सञ्चालन भएका उक्त पार्टलमा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।
अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गको नेतृत्वमा १० जनाको सैनिक टोलीे मित्रराष्ट्र संयुक्त अधिराज्यतर्फ प्रस्थान गरेको थियो ।
युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिने सेनाले जनाएको छ ।
अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण उक्त अभ्यासमा गरिएको सेनाले बताएको छ ।
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १ सय ६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १ सय ४० सैन्य टोलीहरूको सहभागिता रहेको थियो ।
साथै उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपति प्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको सेनाले जनाएको छ ।
मित्रराष्ट्र संयुक्त अधिराज्यमा संचालन हुने सैनिक प्रतियोगिता एक्सरसाइज क्यम्ब्रीयन पोर्टल २०१९ मा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सम्मिलित टिम सहभागी हुने गर्दछ ।
सन् १९६० बाट वार्षिक रुपमा मित्रराष्ट्र बेलायतमा संचालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको एक्सरसाइज क्यम्ब्रीयन पोर्टल प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिदैं आईरहेको छ ।