काठमाडौं – भारतमा पहिलोपटक एक महिलालाई दुईपटक दुई फरक अस्पतालले औपचारिक रूपमा मृत घोषित गरेकोमा उनी जिउँदै भेटिइन् ।
ती ४५ वर्षीया महिलालाई पहिला अर्कै अस्पतालले मृत घोषणा गरेपछि चण्डीगढस्थित सरकारी अस्पताल–१६ को आकस्मिक उपचार कक्षमा ल्याइएको थियो । उनको नसा चलिरहेको थियो र ईसीजी गर्दा महत्त्वपूर्ण अंगहरू सुचारु पाइए । तर दुई घन्टाको उपचारका क्रममा उनको मृत्यु भयो ।
यो केस सरकारी अस्पताल–३२ का चिकित्सकहरूले हालै मात्र एक सम्मेलनमा खुलासा गरेका हुन् ।
उनीहरूका अनुसार, अघिल्लो महिना उक्त महिलालाई सरकारी बहुउपचार अस्पताल–१६ मा मृत घोषणा गरिएको थियो । तर उनको शरीरलाई बेरबार गरेर एम्बुलेन्समा राख्दा उनका नातेदारहरूले शरीरमा जीवनका लक्षण पाए । त्यतिखेर तीन घन्टा बितिसकेको थियो ।
‘उनलाई अस्पताल–३२ लगियो र आकस्मिक उपचार कक्षमा उपचार गरियो । तर उनको दुई घन्टापछि फेरि मृत्यु भयो । मेडिकल भाषामा यसलाई लाजारस फेनोमेना भनिन्छ र विश्वभरमा यस्ता ३८ वटा मात्र केसहरू रिपोर्ट गरिएका छन्,’ अस्पताल–३२ को फरेन्सिक मेडिसिन विभागका प्रमुख डा दासारी हरीशले बताए ।
स्रोतहरूका अनुसार, अस्पतालले कुनै लापरवाही गरेको हो कि भनी अनुसन्धान गर्न एक समिति समेत गठन गरिएको थियो । तर उपचारको अभाव, गलत विधि वा झूटो तरिकाले मृतक घोषणा गरेको जस्तो केही पनि पाइएन ।
‘भारतमा पहिलोपटक हामीले लाजारस फेनोमेना पायौं,’ डा हरीशले बताए । ‘यसको कुनै निश्चित कारण भेटिँदैन तर बौराउनका लागि दिइएका केही औषधिहरूको असर लामो समयसम्म रहँदा असन कुनै रोगी चाहिँ साँच्चै पुनर्जीवित हुँदा यस्तो स्थिति आउँछ र दुईतीन घन्टामा फेरि उसको मृत्यु भइहाल्छ ।’
एजेन्सी