सप्तरी, २२ चैत– सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले आक्रमण गर्दा मंगलबार सप्तरीमा दुईजनाको मृत्यु भएको छ ।
कोशीटप्पुबाट आएको हात्ती मंगलबार सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर क्षेत्रमा छिरेको थियो । हात्तीको आक्रमणबाट हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका झालाई उपचारका लागि धरानको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट अन्य ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।