
कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिकामा उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँको बजेटमा नगर क्षेत्रमा १ सय बढी सौर्यबत्ती जडान गरिने भएका छन् ।
चालू आर्थिक वर्ष २०७६/७७ मा नगर क्षेत्रमा ११० सौर्यबत्ती जडान गरिने भएका हुन् ।
कार्यक्रमअन्तर्गत चालू आवमा ९४ सौर्यबत्ती बत्ती जडान भइसकेका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । अरु सौर्यबत्ती जडानकार्यलाई अगाडि बढाउने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष महेन्द्रनगर बजारको भानुचोकदेखि पुरानो बसपार्कसम्म सौर्यबत्ती जडान गरिएका थिए ।
सांसद डा. दीपकप्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र नगरपालिकाको साझेदारीमा ती सौर्यबत्ती जडान गरिएका हुन् । नगर प्रमुख विष्टले उज्यालो नगर बनाउने प्रतिबद्धताअनुसार विभिन्न निकायसित सहकार्य र समन्वय गरी उज्यालो भीमदत्त कार्यक्रम सञ्चालन गरिएको बताए । गाउँ शहर उज्यालो झिलमिली बनाउने उद्देश्य लिएर कार्यक्रम शुरू गरिएको उनले जनाए ।
नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजना संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीको साझेदारीमा यस वर्ष ११० सौर्यबत्ती जडान गरिने कार्यक्रम बनाइएको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा सौर्यबत्ती जडान गरिएका छन् ।
पुलको सौन्दर्यकरण र उज्यालोका लागि सौर्यबत्ती जडान गरिएको हो । यसका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको छ ।
उज्यालो भीमदत्त कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष बजेटसमेत बढाएको छ । गत वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याइएको छ । नगरपालिकाले प्राथमिकता दिएको उक्त कार्यक्रमअन्तर्गत वडाहरुमा सौर्यबत्ती र सडकबत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ ।
यसैगरी, नगरपालिकाले वडा नम्बर ९ मा पर्ने अहिलेसम्म अध्यारो अवस्थामा रहेका खल्ला, टुँडिखेल र मसेट्टीका बस्तीमा विद्युत् पुर्याउने तयारी गरेको छ । नगरप्रमुख विष्टले ती बस्तीमा विद्युतीकरण कार्य शुरू गर्ने तयारी गरिएको जानकारी दिए । – राजेन्द्र पनेरु/रासस