१४ असार २०८३, आइतबार

कर्णाली सरकारका मन्त्रीहरूले पूरा हेर्न पाएनन् 'छ माया छपक्कै'

कात्तिक ३, २०७६
कर्णाली सरकारका मन्त्रीहरूले पूरा हेर्न पाएनन् 'छ माया छपक्कै'

सुर्खेत- दीपक-दीपकाको फिल्म 'छ माया छपक्कै'ले राम्रो कलेक्शन गरेको छ । फिल्मले औसत समीक्षा पनि पायो । त्यसकारण हलमा अझै पनि दर्शकको चाप शुरूआती दिनमा जस्तै छ । 

उता नेकपाका नेता मोहन बडुवाल समाजको यर्थात चित्रण गरिएको फिल्म भन्ने सुनेका कारण आफू फिल्म हेर्न आएको बताउँछन् । ‘समाजमा कसरी द्वन्द्व द्धन्द्ध हुन्छ भन्ने कुरा फिल्ममा कलात्मक रूपमा देखाइएको हल्ला सुनेर त्यसको अनुभव गर्न फिल्म हेर्न आएको हुँ ,' उनी भन्छन्, ‘द्वन्द्वको निवारण कसरी भएको भन्ने कुराको पनि कलात्मक रूपमा प्रस्तुति भएको र मनोरञ्जन पनि यथेष्ट हुने अपेक्षासहित आएको हुँ ।’ 

यसैबीच शनिवार साँझ ६ बजेर ३२ मिनेटमा लक्ष्मी चलचित्र मन्दिरमा कर्णाली प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायालगायतको नेकपाका नेता कार्यकर्ताहरुको टोली हल भित्र प्रवेश गर्‍यो ।

हलमा अघिल्लो शो चल्दै थियो । एक्कासी कर्णाली सरकारका मन्त्रीहरू नै सोझै फिल्म हल प्रवेश गरेको देखेपछि ६ बजेदेखि हल बाहिर बसेका दर्शक पनि भित्र पसे । तर हल सञ्चालकले भने पहिलेको सो नसकिएको आग्रह गर्दा उनीहरू फर्किए । तर हलमा फिल्म चल्न बन्द भएका कारण मन्त्री तथा साँझको सो का लागि टिकट काटेका दर्शकहरूको शनिवार फिल्मी मूड पूरा हुन पाएन । 

फिल्म हेर्न आएका दर्शक तथा मन्त्रीहरुको चाहना शनिवार अधुरै रह्यो । सञ्चालकहरूको गम्भीर लापरवाहीका कारण दिउँसो साढे तीन बजेको सो मध्यान्तरपछि प्रोजेक्टर बिग्रेको भन्दै सो रोकियो । दर्शकहरू आक्रोशित भए । दर्शकले आफ्नो टिकटको पैसा फिर्ता माग्दा उल्टै हलका कर्मचारीहरू दर्शकलाई धम्क्याउन थाले । दोहोरो झडपको स्थिति उत्पन्न भयो ।

अन्त्यमा साढे ६ बजेको सो का लागि टिकट काटेका दर्शकलाई टिकटको रुपैंया फिर्ता दिएर घर पर्काइए पनि कसैसँग माफी माग्न हल सञ्चालकले चाहेनन् । 'शुक्रवार नै टिकट काटेको थिएँ । शनिवार फिल्म हेर्न आउँदा मध्यान्तरपछि बिग्रियो । हामीले हेर्न पाएनौं,’ दर्शक सरोज थापाले भने, ‘कि छिटो फिल्म सञ्चालन गर्नुपर्छ नभए हाम्रो पैसा फिर्ता दिनुस् भनेर भन्दा उल्टै हामीमाथि त्यहाँका कर्मचारीहरूले दादागिरी देखाए ।’ सुर्खेतमा एक मात्र फिल्म हल भएका कारण उनीहरूमा अहमता बढेको उनको आरोप छ ।

यति मात्रै होइन हलले थ्री डी भन्दै बाल्कोनीका लागि ३०० रुपैयाँ र तलका लागि दुई सय रुपैयाँमा टिकट बेच्दै आएको छ । ‘मनलाग्दी तरिकाले पैसा असुल गरिएको छ,’ अर्का दर्शक रविना शाक्य भन्छिन, ‘थ्री डी हल भन्ने तर टु डी बराबरको सुविधा नदिनेलाई कसैले कारवाही गर्न सक्दो रहेनछ । विरोध गरेको खण्डमा उल्टै कर्मचारीको हप्कीदप्की दर्शकले नै व्यहोर्नुपर्ने बाध्यता कहिले अन्त्य होला र खोइ ?’

यता हलका एचआर म्यानेजर महेन्द्र केसी भने गल्ती भएको स्वीकार्छन् । ‘हरेक सो केही समय ढिला शुरू भएको र बीचमा प्रोजेक्टरले धोका दिएका कारण पुरै फिल्म देखाउन सकिएन,’ उनले भने, ‘अब नयाँ प्रोजेक्टर खरीद गर्ने कुरा भएको छ । आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउन प्रतिबद्धता व्यक्त गर्दछौं ।’ 

 

salt training

कमेन्ट गर्नुहोस्