०१ असार २०८३, सोमबार
पौरखी महिला

फूलको आयात रोक्न कस्सिए रूपन्देहीका महिला, तिहारअघि ढकमक्क फुल्दै सयपत्री

कात्तिक ३, २०७६
फूलको आयात रोक्न कस्सिए रूपन्देहीका महिला, तिहारअघि ढकमक्क फुल्दै सयपत्री

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ९ जना महिलाले क्षितिज नमूना कृषक समूह गठन गरी यस वर्षदेखि व्यवसायिक पुष्प खेती शुरू गरेका छन् ।

गएको जेठमा प्रदेश सरकारले उनीहरूलाई व्यवसायिक पुष्प खेती तथा बगैँचा व्यवस्थापन तालिम दिएको थियो । थोरै लगानीमा धेरै प्रतिफल पाउने भएपछि उत्साहित हुँदै उनीहरूले तालिमपछि फूल खेती शुरू गरेका हुन् ।

१० कठ्ठा जग्गामा लगाइएका सयपत्री फूल दिपावली (तिहार) का लागि तयारी अवस्थामा छन् । फूल ढकमक्क फूल्न थालेपछि त्यहाँ फोटो खिचाउन जानेहरूको लर्को लाग्न थालेको छ । यस वर्षको तिहार आउन धेरै दिन बाँकी छैन । 


समूहकी अध्यक्ष नविना भण्डारीले स्थानीय स्तरमै रोजगार सिर्जना गरी भारतीय फूलको आयात रोक्न पुष्प खेती शुरू गरेको बताइन् । उनीसहित अन्य महिलाहरू पनि बिहानदेखि साँझसम्म बगैँचामा फूलको व्यवस्थापनमा खटिन्छन् । 

उनले भनिन्, ‘अहिलेको तिहारमा ५ हजार माला बिक्री गर्ने लक्ष्य छ । दैनिक रूपमा यहाँ आएर तिहारमा हामीलाई फूल दिनुहोला भन्ने धेरै छन् । तर, हामीहरूले माला बिक्री गर्ने योजना बनाएका छौं ।’

फूल खेती कम लगानी, थोरै जमिन र कम मेहेनतमा छिटो आम्दानी गर्न सकिने व्यवसाय मानिन्छ । 

बुटवल–१३ नयाँ गाउँमा पौरखी कृषि नारी फर्म चारजना महिलाहरूले पनि यस वर्षदेखि फूल खेती शुरू गरेका छन् । 

सीता खनाल, बनिका भण्डारी, टीका भण्डारी र कान्त बेल्वासेले २ लाख लगानीमा पुष्प खेतीमा हाल हाले । 

उनीहरूले एकपटक फूल बिक्री २० हजारभन्दा बढीका फूल बिक्री गरिसके । रूपन्देही सहित प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पुष्प खेती शुरू गरेको सञ्चालक सीता खनालले बताइन् ।

सीता राजनीतिकर्मी पनि हुन् । उनीहरूले खाली रहेको झण्डै दुई बिगाहा जग्गामा फूल लगाएका छन् । अहिले बुटवल उपमहानगरपालिकाले आफ्ना हरेक कार्यक्रममा उनीहरूले उत्पादन गरेको फूलको प्रयोग गर्ने भएको छ । 

अर्की सञ्चालक टीका भण्डारीले यहाँका हरेक कार्यक्रममा भारतीय फूलको आयात रोक्न फूल खेती शुरू गरिएको बताइन् । 

गत वर्षदेखि तिलोत्तमाको कुञ्जलापुरमा देवी वाग्ले लगायतको महिला समूहले तिलोत्तमा सहकदम कृषक समूह गठन गरी पुष्प खेती शुरू गरिसकेको छ । 

वाग्ले एक सार्वजनिक कार्यक्रममा उनलाई लगाइदिएको मालाले रंग कपडा सर्‍यो । तर, उक्त कपडा धुँदा पनि रंग नगएपछि अहिले केमिकलयुक्त फूललाई निरुसाहित गर्न फूल खेती शुरू गरेको बताउँछिन् ।

'गत वर्ष हामीले दुई हजार ५ सय माला बिक्री गर्‍यौं, यो वर्ष त्यसलाई बढाउने सोच छ । गत वर्ष २ सय रूपैयाँसम्ममा माला बिक्री भएका थिए,’ उनले भनिन् ।

अहिले रूपन्देही लगायत प्रदेश पाँचमा व्यवसायिक फूल खेतीमा महिलाहरू उत्साहजक रूपमा लागेका छन् । 

देशमा लगन गरे राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि महिलाहरूले फूलखेती शुरू गरेका हुन् । 

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतीय माला र फूल कुनै पनि कार्यक्रममा प्रयोग नगर्न आग्रह गरिसकेको छ । 

‘हामी प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउने गरी विभिन्न ठाउँमा महिलाहरू जुटेका छौं, हामी सफल भएरै छाडछौं,’ महिलाहरू भन्छन् ।

विभिन्न सार्वजनिक कार्यक्रममा भारतीय फूल र मालाहरूकै प्रयोग हुन्छ । 

नेपालमा हरेक वर्ष न्यूनतम रु.२० करोड बराबरको फूल आयात हुने नेपाल पुष्प व्यवसायी महासंघको आंकलन छ ।

पुष्प व्यवसायी संघका प्रदेश पाँचका अध्यक्ष रमेश पाण्डेले महिलाहरू उत्साहजनक रूपमा फूल खेतीमा लागेकोले केही वर्षभित्रै प्रदेश ५ फूलमा आत्मनिर्भर हुने बताए । 

पाण्डेले भने, ‘फूलमा भन्सार रेकर्ड प्रायः नहुने भएकाले २० करोड रूपैयाँभन्दा बढीकै फूल आयात होला । त्यसैले, फूलमा आत्मनिर्भर बन्न निजी क्षेत्रबाट हामीले धेरै काम गरिरहेका छौं ।’ 

पाण्डेले महिला कृषकहरूलाई फूलका विरुवा उत्पादनदेखि कसरी लगाउने भन्ने प्रशिक्षण पनि दिँदै आएका छन् । 

रून्देहीको तिलोत्तमाका धेरै वडा र सैनामैनाका सबै वडामा फूल खेती शुरू भएको छ । पाल्पा, दाङ, कपिलस्तुदेखि बाँकेका विभिन्न क्षेत्रहरूमा पनि व्यवसायिक पुष्प खेती थालिएको छ । प्रदेश सरकारले पनि पुष्प खेती गर्ने किसानहरूलाई अनुदान दिएको छ । 

प्रदेशभित्रका पहाडी जिल्लामा खासै भारतीय मालाको प्रयोग नहुने भए पनि तराईका ६ जिल्लामा चाडपर्व, विभिन्न शुभकार्यका लागि भारतबाटै माला आउने गर्छन् । 

यहाँ तिहारमा झण्डै ५ लाखभन्दा बढी माला भारतबाट आउने व्यवसायीहरूको आंकलन छ । त्यसलाई निरुसाहित गर्न यहाँका महिला कृषकहरू लागेका छन् । 

रूपन्देही प्रदेशको राजधानी हो । यहाँ धेरै कार्यक्रमहरू हुन्छन् । त्यसका लागि मालाको खपत पनि बढ्दै गएको छ । त्यस्तै प्रशस्त मठमन्दिर भएको, धार्मिक कार्य, मेला महोत्सव तथा सभा समारोहमा पनि मालाहरूको माग बढ्दो छ । 

भारतबाट आयात हुने फूल उपभोक्तासम्म आइपुग्दा महङ्गो हुने भएकाले पनि आफनो क्षेत्रमा फूलखेती गर्दा सस्तोमा उपलब्ध गराउन सकिने र स्वदेशको पैसा स्वदेशमा नै लगानी हुने भएकाले फूल खेतीको महत्त्व धेरै नै रहेको छ ।

चाडपर्वमा मात्र होइन यहाँ १२ महिना नै फूलको माग बढिरहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्