२६ जेठ २०८३, मंगलबार

डीभीका कारण राहदानी बनाउनेको बाक्लो भिड

कात्तिक ५, २०७६
डीभीका कारण राहदानी बनाउनेको बाक्लो भिड

काठमाडौं–    राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड अस्वाभाविक रूपमा बढेको छ।

सोमबार आवेदनको संख्या झन्डै ३ हजार पुगेको छ। यसअघि दैनिक बढीमा ५ सय आवेदन पर्दै आएको थियो। दसैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्यधिक वृद्धि भएको हो। त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको छ।

पासपोर्ट बनाउन आउने अधिकांशको धारणा छ, ‘अमेरिकी डीभीले गर्दा दुःख पाइयो। पासपोर्ट नम्बर नभए डीभीको फारम स्वीकार हुँदैन रहेछ।’ असोज १५ (अक्टोबर २)मा खुलेको डीभी २०२१ कार्यक्रम कात्तिक १९ (नोभेम्बर ५)मा सकिन्छ। अमेरिकाले यसपटक डीभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरेको छ।

विभागमा गत शुक्रबारदेखि भीड बढेको हो। त्यस दिन १ हजार ८ सय ५५ आवेदन परेकामा आइतबार २ हजार ६ सय ६२ पुग्यो। सोमबार साँझसम्म निवेदन बुझ्ने काम भइरहेको थियो। त्यो बेलासम्म २ हजार ७ सय आवेदन परेको विभागले जनाएको छ। यो भीड २०१० को डिसेम्बर २६ पछिको सर्वाधिक हो। त्यति बेला हस्तलिखित राहदानी विस्थापन गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सुरु गरिएको थियो। त्यति बेला ३ हजार ४ सयसम्म आवेदन परेको थियो।

‘डीभी पर्ने÷नपर्ने थाहा छैन, चिट्ठाकै लागि १० हजार तिर्न बाध्य भयौं’, गोरखाका शिव पन्तले भने, ‘कतै विदेश जानुपरे पासपोर्ट आवश्यक परिहाल्छ। अहिले नै बनाउनुको उद्देश्य डीभी नै हो।’

salt training

कमेन्ट गर्नुहोस्