काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलवार बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो ।
संवैधानिक आयोगमा गरिने नियुक्तिलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यसबारे सभापति देउवालाई अडान लिन सुझाएको बैठकमा सहभागी एक पदाधिकारीले राससलाई जानकारी दिए ।
बैठकले अनौपचारिक छलफल गरी सहमतिपश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ ।
बैठकमा सभापति देउवाले सोमवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका थिए ।
बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने सम्बन्धमा समेत छलफल भएको थियो । कांग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेदवार टुंगो लगाउन र अन्य तयारीका लागि यही कात्तिक ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
त्यसअघि बुधवार नै पदाधिकारी बैठक पुनः बसेर केन्द्रीय समितिमा छलफल हुने कार्यसूचीका बारेमा समेत सहमति गरिने उनले जानकारी दिए ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू रमेश लेखक, डा. मीनेन्द्र रिजाल लगायत उपस्थित थिए ।