२५ जेठ २०८३, सोमबार

सहनी ‘इन्काउन्टर’मा डिएसपीलाई समेत मुद्दा चलाउन सिफारिस

कात्तिक ६, २०७६
सहनी ‘इन्काउन्टर’मा डिएसपीलाई समेत मुद्दा चलाउन सिफारिस

काठमाडौं – ११ वर्षअघिको एक ‘इन्काउन्टर’ घटनामा प्रहरीले बल प्रयोग गरेर युवकको हत्या गरेको भन्दै तत्कालीन डिएसपीसहितका प्रहरीलाई मुद्दा चलाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सिफारिस गरेको छ । ०६६ मा बारामा रामबहादुर सहनीको ‘इन्काउन्टर’का नाममा हत्या गरेको भन्दै आयोगले तत्कालीन डिएसपी सुरेन्द्र केसी र असइ धर्मेन्द्र सिंहलगायत प्रहरीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाउन सिफारिस गरेको हो । 

आयोगको सोमबारको बैठकले उनीहरूमाथि मुद्दा चलाउन सिफारिस गर्ने निर्णय दोस्रोपटक गरेको हो । १८ चैत ०७५ मा नै यससम्बन्धी निर्णय आयोगले गरेर सरकारलाई सिफारिस गरेको थियो । सहनीलाई पक्राउ गरेर हत्या गरिएको आयोगको ठहर छ । तर, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सो निर्णय कार्यान्वयन नगरेको भन्दै फेरि आयोगले निर्णय गरेर सिफारिस कार्यान्वयनका लागि ताकेता गरेको छ । सरकारले मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत भनेको छ । 

त्यतिवेला ‘इन्काउन्टर’मा संलग्न डिएसपी केसीले हाल अवकाश पाइसकेका छन् । आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २२ फागुन ०६६ मा सहनीको प्रहरीको गोलीबाट बाराको बैरियामा मृत्यु भएको थियो । प्रहरीले दोहोरो भिडन्तमा मृत्यु भएको दाबी गरेको थियो । मृतकका परिवारले पक्राउ गरेर प्रहरीले हत्या गरेको भन्दै आयोगमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो । करिब १० वर्षपछि आयोगले सहनीको दोहोरो भिडन्तमा मृत्यु भएको नभई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्ष निकालेको हो । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्