२६ जेठ २०८३, मंगलबार

गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

कात्तिक ६, २०७६
गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

सोलुखुम्बु –थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।

स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए।

अधिकृत राईका अनुसार करीब रु ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो ।

गाउँपालिकाको भवन निर्माण गर्नेबेला मौखिकरूपमा सहमति भएअनुसार गाउँपालिकाको नाममा रजिष्ट्रेशन पास भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। स्थानीय समाजसेवी गुरुङले १७.५ रोपनी जग्गा कानूनीरूपमा गाउँपालिकाको नाममा पास गरिदिएको अध्यक्ष राईले बताए।

सानो सहयोगले सिङ्गो गाउँपालिकाको विकासका लागि टेवा पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता गुरुङको भनाइ छ ।

गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त जग्गामा एक वर्षअघि नै गाउँपालिकाको सुविधासम्पन्न भवनसमेत निर्माण भइसकेको छ ।

यसअघि गाउँपालिकाले व्यक्तिको नामको जग्गामा सरकारी भवन बनाएको आरोपसमेत लागेको थियो । आफूहरुले गाउँपालिकाको नाममा दिइसकेको जग्गामा केही व्यक्तिले अनावश्यक विवाद गरेको जग्गादाता एकाबहादुरका छोरा जीवन गुरुङले गुनासो गरे।
 

salt training

कमेन्ट गर्नुहोस्