०८ असार २०८३, सोमबार

सापटी दिएको पैसा फिर्ता लिन जाँदा व्यवसायीमाथि गोली हानी हत्या

कात्तिक ६, २०७६
सापटी दिएको पैसा फिर्ता लिन जाँदा व्यवसायीमाथि गोली हानी हत्या

जनकपुरधाम –जनकपुरको मुजेलियामा बुधवार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ । 

जनकपुरधाम वडा नम्बर १४ विद्युत प्राधिकरण नजिकै पेट्रोल पम्प व्यवसायी मनोज साहको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले लोकान्तरलाई जानकारी दिएको हो । 

प्रहरीका अनुसार, गोली प्रहारबाट घाइते उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक साहले स्थानीय पंकज चौधरीलाई पैसा दिएका थिए । सोही पैसा लिन गएका साहलाई चौधरीले गोली हानेका हुन् । मृतक साहको छातीमा दुई वटा गोली लागेको छ । 

घटनाका प्रत्यक्षदर्शी अमित कुमार साहका अनुसार,  वडा नम्बर १४ भुजेलीमा मनोज पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा पंकजले उनलाई गोली हानेका हुन् । 

अमित र मनाेज साथी हुन् । दुवैजना पंकजकाे घरमा पैसा माग्न गएका थिए । साेही समयमा मनाेजलाई गोली हानिएकाे हाे । घटनालगत्तै अमितले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार, जनकपुरधाम वडा नम्बर १५ का वडाध्यक्ष अशोक चौधरीको आफ्नै भतिजा भएको खुल्न आएको छ । उनले स्थानीय स्तरमा नै ठेक्कापट्टा गर्दै आएका छन् । 

उनको पैतृक घर जनकपुरको वडा नम्बर १५ रामपुर गाउँमा रहेको छ । केही वर्षअघि उनले वडा नम्बर १४  मुजेलियामा पनि घर किनेर बस्दै आएका थिए ।
 
उनका परिवारले अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन् । जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहलेले लोकान्तरसँग बोल्दै अपराधीलाई कडा कारबाही गर्नुपर्ने जनाएका छन् । 

मृतकको शव परिक्षणका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । मेयर साह अस्पतालमा नै पुगी घटनाबारे बुझेका थिए । 

घटनापछि छिमेकीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले चौधरीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका चौधरीको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घटनापछि यहाँका स्थानीयहरू त्रसित बनेका छन् । मानिसहरूले घरभित्रै हतियार राखेको हुन सक्ने र जुनसुकै समयमा जसलाई पनि हान्न सक्ने भन्दै स्थानीय त्रसित भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्