काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्मघाती बमले उडाइदिने धम्की दिँदै ट्विटरमा तस्वीर अप्लोड गर्ने पाकिस्तानी गायिका राबी पिरजादालाई चर्को ट्रोल गरिएको छ ।
जम्मु कश्मीरको विशेषाधिकार खोस्ने दिल्ली सरकारको निर्णयको विरोध गर्दै उनले तस्वीर अप्लोड गरेकी बताएकी छन् ।
कम्मरमा हात राखेर पिरजादाले छातीमा आत्मघाती बमयुक्त कालो भेस्ट लगाएर टाइमरसहित तस्वीर अप्लोड गरेकी थिइन् । उनले क्याप्सनमा ह्याशट्याग मोदीहिटलरहै ह्याशट्याग कश्मीरकीबेटी लेखेकी थिइन् ।
भारतका ट्विटर प्रयोगकर्ताहरूले ‘यो पाकिस्तानको राष्ट्रिय परिधान हो कि’ भन्दै पिरजादाको मजाक उडाएका थिए ।
यसअघि पनि पिरजादाले अनौठा किसिमका धम्कीयुक्त भिडियो पोस्ट गरेकी थिइन् । सेप्टेम्बर महिनामा उनले सर्प र गोहीको भिडियो अप्लोड गरेर मोदीमाथि ती प्राणीको आक्रमण गराउने धम्की दिएकी थिइन् ।
त्यतिखेर वन विभागले उनीविरुद्ध वन्यजन्तुलाई घरमा पालेको आरोपमा कारवाही गरेको थियो ।
एजेन्सी