
सुर्खेत - कर्णाली प्रदेशमा बालबालिका हराउन थालेका छन् । बितेका तीन वर्षमा सबैभन्दा बढी सुर्खेतबाट ३ सय ३२ जना र सबैभन्दा कम डोल्पाबाट २१ जना बालबालिका हराएका छन् ।
विगत तीन वर्षमा हराएका बालबालिकामध्ये २७ दशमलव २३ बालबालिका कहाँ गए थाहा हुन सकेको छैन् अर्थात ती बालबालिका फेला पर्न सकेका छैनन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा १ सय ५८ बालक तथा १ सय २९ बालिका गरी २ सय ८७ बालबालिका हराएका थिए । तीमध्ये ५१ बालक र ३६ बालिका गरि ८७ जना फेला पर्न सकेनन् । आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ३ सय २३ जना बालबालिका हराए ।
तीमध्ये १ सय ८० बालक तथा १ सय ४३ बालिका हराएका थिए । ५५ बालक तथा ४९ बालिका गरी १ सय ४ जना बालबालिका फेला परेनन् ।
आर्थिक वर्ष २०७५/०७६ मा हराउने बालबालिकाको जम्मा संख्या ३७४ थियो । ती मध्ये १७३ बालक तथा २०१ बालिका थिए । उक्त वर्ष ७७ जना बालक तथा बालिका फेला परेनन् । ४३ बालक तथा ३४ बालिकाको अत्तोपत्तो नलागेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कुन जिल्लाबाट कति हराए ?
सबैभन्दा बढी सुर्खेत जिल्लाबाट हराएका छन् । आर्थिक वर्ष २०७३/०७४मा ८९ जना, आर्थिक वर्ष २०७४/०७५ मा १२१ जना बालबालिका हराएका थिए भने आर्थिक वर्ष २०७५/०७६ मा १३२ जना हराए । रुकुम पश्चिममा तीन वर्षमा १०५ जना हराए भने दैलेखमा सोही अवधिमा ११६ जना हराए ।
जाजरकोटबाट १०५ जना हराएका छन् भने सल्यानबाट ६४ जना हराएको तथ्यांक प्रहरीसँग छ । ८० जना बालबालिका जुम्लाबाट तीन वर्षमा हराएका छन् भने कालिकोटबाट ७५ जना, हुम्लाबाट २६ जना, मुगुबाट २९ जना र डोल्पाबाट २१ जना तीन वर्षमा हराए ।
प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेतका डिआइजी पूर्णचन्द्र जोशीले अभिभावकलाई जानकारी नै नदिएर घरबाट भाग्ने गरेका कारण कर्णालीमा यस्तो समस्या सिर्जना भएको बताए ।
‘कतिपय बालबालिका रोजगारीका लागि अन्यत्र जाँदा खबर नै गर्दैनन् । जसका कारण बालबालिकाका हराउने क्रममा बृद्धि भएको हो,’ डिआइजी जोशीले भने, ‘बालविवाह, भागी विवाह पनि बालबालिका हराउने प्रमुख कारण हो ।’
उनले कर्णालीमा हराएका अधिकांश बालबालिका रोजगारी खोज्न बाहिर जाने, विवाह गरेर अन्तै जाने गरेका कारण फेला नपरेको बताए ।
‘पछिल्लो समयमा बालबालिका हराउने कारणमा सामाजिक सञ्जाल तथा मोबाइल प्रमुख कारणको रुपमा आएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालका कारण माया प्रेम गाँस्ने र त्यहि कारण उनीहरु अभिभावकलाई जानकारी नदिई विवाह गर्ने गर्दै आइरहेका छन् । यसले गर्दा अभिभावक हराएको निवेदन ल्याउँछन तर पछि पत्ता लागेको कुरा प्रहरीलाई जानकारी दिदैंनन् ।’
उनले भने, ‘जसले गर्दा प्रहरीको रेकर्डमा हराएको भन्ने कुरा नै उल्लेख गर्नुपर्ने बाध्यता छ ।’ उनले कर्णालीका बालबालिका हराउनुको कारण बेचविखन नभएको बताए ।
‘अहिले कर्णालीका बालबालिका बेचबिखनमा पर्ने गरेका छैनन् । अब बरु स्थानीय तहमा, गाउँ टोलमा जनचेतनामूलक कार्यक्रम तथा रोजगारमूलक कार्यक्रम लागु गर्नु पर्छ । त्यसो गर्न सके बालबालिका हराउने काममा न्यूनिकरण आउने हाम्रो धारणा छ,’ उनले भने, उनले अन्यको देखोसिकी पनि बालबालिका हराउने कारक बनेको बताए ।
‘अर्कोले राम्रो लगाएको, राम्रो खाएको देखेर पनि त्यस्तै जीवनशैली अपनाउने रहरमा बालबालिका सुर्खेत, नेपालगञ्ज, काठमाडौंमा काम गर्न जाने गरेको हामीले पाएका छौं,’ उनले भने, ‘यसका लागि अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्ने गरेको खण्डमा बालबालिका हराउने क्रम रोकिन्छ ।’