२३ असार २०८३, मंगलबार

स्थानीय मुद्दालाई बेवास्ता गर्दा हरियाणामा बहुमतबाट टाढा भाजपा

कात्तिक ८, २०७६
स्थानीय मुद्दालाई बेवास्ता गर्दा हरियाणामा बहुमतबाट टाढा भाजपा

काठमाडौं – भारतमा भएको लोकसभा चुनावमा हरियाणाका सबै सीट जितेको भारतीय जनता पार्टीले पाँच महिनापछि भएको विधानसभा चुनावमा भने हारको सामना गर्नुपरेको छ । 

बढ्दो आर्थिक मन्दी, बेरोजगारी र कृषि संकटका कारण चुनावमा पार्टीको जनाधार खस्कियो अनि ऊ बहुमतबाट टाढियो ।

चुनावपछि भाजपा राज्यमा सबभन्दा ठूलो दल त बन्यो तर बहुमत पुर्‍याउन सकेन । राज्यको विधानसभाको ९० सीटमा भाजपाले ४०, कांग्रेसले ३१ र जननायक जनता पार्टीले १० सीट पाएका छन् । 

मनोहरलाल खट्टर नेतृत्वको हरियाणा सरकारले सत्तामा पुनः फर्किनका लागि पूर्ण बहुमत जुटाउन सकेन । 

जाट समुदायलाई आरक्षण नदिइनु र सन् २०१६ को आन्दोलनमा जाट कार्यकर्तामाथि लगाइएको मुद्दा लम्ब्याइनु पनि जनताको आक्रोशको कारणका रूपमा लिइएको छ । 

डेरा सच्चा सौदाका समर्थक पनि भाजपाप्रति रुष्ट भएका कारण पनि भाजपाले बहुमत नपाएको बताइएको छ । दुई वर्षअघि राम रहीमलाई सजाय सुनाइँदा समर्थकहरूमाथि गोली चलाइएको घटनाले पनि चुनावमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

यस चुनावमा कांग्रेसले निकै राम्रो प्रदर्शन गरेको छ । पहिलेको चुनावमा जम्मा १५ सीट जितेको कांग्रेसले ३१ सीट ल्याउनुमा पूर्व मुख्यमन्त्री भूपिन्दर सिंह हुड्डाको भूमिका मानिएको छ । 

जाट समुदायमा हुड्डाको अपीलले काम गरेको विश्लेषकहरूको भनाइ छ । अनि भाजपाले कश्मीरलाई दिइएको विशेष दर्जा खोस्ने काम, बालाकोट आक्रमण र मोदीको चमत्कारी नेतृत्वको कुरा उठाउँदै स्थानीय मुद्दालाई बेवास्ता गरेकाले पनि हार बेहोरेको बताइन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्