२६ जेठ २०८३, मंगलबार

महाकवि देवकोटा संग्रहालय बनाउन कविकुञ्ज प्राप्तिमै लाग्यो १ वर्ष

कात्तिक ८, २०७६
महाकवि देवकोटा संग्रहालय बनाउन कविकुञ्ज प्राप्तिमै लाग्यो १ वर्ष

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’लाई संग्रहालय बनाउन घोषणा भएको १ वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुंगिएको छ ।

संग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले यसबीचमा देवकोटाको परिवारसँग उक्त जग्गा प्राप्तिका लागि विभिन्न चरणमा छलफल गरेर मुआब्जा रकम निर्धारण गरी निकासाका लागि नेपाल सरकारसँग ताकेता गरेको छ भने अन्य प्रक्रियागत झमेला मिलाएको छ । मुआब्जा वितरणपछि धोबीधारास्थित १२ आनामा निर्मित कविकुञ्जको हक प्रतिष्ठानको नाममा हस्तान्तरण हुनेछ ।

मुआब्जा वितरणपछि संग्रहालय निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्ने र बजेट तर्जुमाको प्रक्रिया शुरू हुनेछ । सम्पत्तिलाई देवकोटा परिवार र गुठी संस्थानको परामर्शमा ५ करोड रुपैयाँ मूल्य निर्धारण गरी देवकोटा परिवारलाई २ करोड ५० लाख रुपैयाँ दिने गरी समझदारी भएको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए । जग्गा गुठीको नाममा रहेकाले गुठी संस्थानले भने यसबारे अझै सबै टुंगो लगाइ नसकेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीसम्बन्धी कार्यक्रममा संग्रहालय बनाउने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको देवकोटाको जन्मघर खरीद गरी ‘रेक्ट्रोफिटिङ’ गरेर देवकोटा कसरी पलेंटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउने गरी संग्रहालय बनाउने योजना सुनाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले संग्रहालय निर्माणका लागि मुआब्जा र अन्य विषयबारेको प्रस्ताव अर्थ मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद्मा पठाइने प्रक्रिया शुरू भएको जानकारी दिए । उनले यसबारे थप जिम्मेवारी प्रज्ञा प्रतिष्ठानलाई दिइएको बताए ।

कविकुञ्ज महाकवि देवकोटाका साइली छोरीको नाममा रहेकामा हाल देवकोटाका २ छोराहरूको नाममा हस्तान्तरण गरिएको र सरकारबाट मुआब्जा रकम प्राप्त भएपछि रकम दिएर कविकुञ्ज प्रतिष्ठानको नाममा हस्तान्तरणको प्रक्रिया शुरू हुने कुलपति उप्रेतीले बताए । देवकोटाका दुवै छोराहरू हाल विदेशमा रहेकाले देवकोटाका माइली छोरीसँग प्रतिष्ठानले समन्वय गरिरहेको छ । कुलपति उप्रेतीले प्रतिष्ठानका कमलादीस्थित परिसरमा अर्काे संग्रहालय भवन विस्तृत परियोजना प्रस्ताव बनाइसकिएको पनि बताए ।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले विद्यमान कानूनअनुसार निर्धारण गरिएको मूल्यको ६६ प्रतिशत मुआब्जा रकम आफूहरूलाई चाहिने दाबी गरे । कूल मूल्यको ३३ प्रतिशत रकम भोगचलन गर्नेले पाउँछ । उनले यसबारेमा सरकारले निर्णय गरेपछि हक हस्तान्तरण सहज हुने बताए ।

प्रज्ञा प्रतिष्ठानले भने देवकोटा विलक्षण प्रतिभावान व्यक्ति भएकाले उनको परिवारलाई कूल मूूल्यको ५० प्रतिशत रकम निकासा गराउन पहल गरेको छ । गुठी संस्थान ऐन २०३३ को दफा ४२ (क) मा ‘गुठीमा रहेको जग्गमा बेचबिखन हुँदैन । सरकारले सामाजिक कल्याण वा सामुदायिक हितको लागि उपलब्ध गराउन व्यावहारिकता हेरी सहुलितय मूल्यमा लिन सक्ने’ उल्लेख छ ।

महाकवि देवकोटाका ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’, ‘पुथ्वीराज चौहान’, ‘प्रमिथस’, ‘महाराणाप्रताप’, ‘वनकुसुम’ महाकाव्य, ‘मुनामदन’, ‘कुञ्जिनी’, राजकुमार प्रभाकर’ लगायत खण्डकाव्य, लक्ष्मी कथा र निबन्ध संग्रह लगायत दर्जनौं लोकप्रिय कृति छन् । नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाका परिकल्पनाकार समेत रहेका महाकवि देवकोटा पूर्व शिक्षामन्त्रीसमेत थिए । उनको जन्म विक्रम संवत् १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन र निधन विक्रम संवत् २०१६ भदौ २९ गते भएको थियो । – प्रकाश सिलवाल/रासस 

salt training

कमेन्ट गर्नुहोस्