०२ असार २०८३, मंगलबार

मेलम्ची खानेपानीकोे वितरण प्रणालीका ९०% पूर्वाधार तयार

कात्तिक ८, २०७६
मेलम्ची खानेपानीकोे वितरण प्रणालीका ९०% पूर्वाधार तयार

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भइसकेको छ ।

मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण रहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुर्‍याउने काम भइरहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ ।

पानी संकलनका लागि विभिन्न १० स्थानमा ट्यांकी निर्माण भइरहेको छ । मेलम्चीको पानी २ चरणमा गरी काठमाडौं उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी संकलन, वितरण हुँदै फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो । यस चरणमा चक्रपथभित्रका १ लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ ।

काठमाडौंका चोकहरुमा एउटा दिशाबाट अर्काे दिशामा पाइप लैजानका लागि ‘क्रसिङ’ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पुतलीसडक, कलंकी, दरबारमार्गलगायत ९ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब अघि बढ्ने परियोजना निर्देशक भोजविक्रम थापाले बताए ।

यी स्थानमा सवारी आवागमनमा बाधा पुग्ने भनी ‘क्रसिङ’ निर्माण नभएपनि अहिले निर्माणका लागि सहमति भइसकेको उनको भनाइ छ । उनले भने, ‘सडक विभागसँग सहमति लिइसकेकाले अब चाँडै शुरू हुनेछ ।’

मेलम्चीको पानी आएपछि पानी भण्डारणका लागि १० वटा ‘रिजर्भ ट्यांकी’ निर्माण गर्ने आयोजनाको योजना रहेको थियो । जसमध्ये ९ स्थानमा निर्माण भइसकेको आयोजना प्रमुख थापाले बताए । यी सबै स्थानमा सात करोड ४५ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भएको हो । भक्तपुरको कटुञ्जेमा विवादका कारण निर्माण हुन नसकेकामा अहिले विवाद समाधान भइसकेकाले छिट्टै निर्माण शुरू हुने उनको भनाइ छ । यस स्थानमा डेढ किलोमिटर पाइप निर्माणसमेत अघि बढ्न नसकेकामा अब अघि बढाइने उनले बताए ।

आयोजनाले मुख्य, सहायक र वितरण गरी ३ किसिमका पाइपलाइन बिच्छ्याइरहेको छ । जसमध्ये घरघरमा पुग्ने वितरण पाइप जडानको काम झण्डै ८९० किलोमिटर सकिएको र झण्डै २०० बाँकी रहेको आयोजनाले जनाएको छ । 

पाइप लाइन विस्तारसँगै आयोजनाले पाइपको जाँच गरिरहेको निर्देशक थापाले बताए । अहिले वाग्मतीको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर नयाँ जडान भएका पाइपहरुको जाँच भइरहेको हो । नियमितरूपमा भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानै पाइपमार्फत वितरण गरिरहेको छ । १०० वर्षभन्दा पुराना पाइपहरु जीर्ण अवस्थामा छन् । ठाउँ–ठाउँमा ‘हेभी’ गाडीका कारण पाइपमा समस्या आइरहँदा मर्मत गरेर सञ्चालन गरिएको उहाँले बताउनुभयो । कतिपय स्थानमा पाइप माटोमा नै परिणत भइसकेको छ । ‘मेलम्चीको बाँकी काम सकिएर पानी वितरण गर्न शुरू भएपनि यी पाइप पूर्णरूपमा प्रयोगमा आउँदैन,’ उनले भने ।

आयोजनाअन्तर्गत नै पाइप विस्तारका लागि खनिएका सडक मर्मतका कामसमेत आयोजनाले गरिरहेको छ । सडक विभागको अधिकार क्षेत्रअन्तर्गत पर्ने सडक विभागले र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने सडकको मर्मतको काम परियोजनाले गरिरहेको छ । मेलम्चीको पानी आएपछि त्यसको व्यवस्थापनका लागि आयोजनाले नै ४ स्थानमा ५ वटा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ । 

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणको काम कम मात्रै बाँकी रहेकाले आयोजनाले वितरणका लागि आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइएको हो । सरकारले आयोजनाको बाँकी रहेको भनिएको ५ प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । कम्पनी साइटमा गएसँगै कामले गति लिने देखिएको छ । आयोजनाको जम्मा कामको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी ५ प्रतिशत कामका लागि ठेक्का सम्झौता भएको हो । २ महिना पहिले १५ महिनामा काम गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले काम शुरू गरेको दिनदेखि १५ महीनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको पन्तले बताए । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ । – सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्