
अजरबैजान – असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औं शिखर बैठकको उद्घाटन सत्र राजधानी बाकुको कंग्रेस सेन्टरमा शुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सत्रमा भाग लिएका छन् । बाकु कंग्रेस केन्द्रमा पुगेका प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य पनि थिइन् ।
प्रधानमन्त्री ओलीले नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्णसत्रलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनहरुका प्रतिनिधि सहभागी छन् ।
शिखर बैठकको उद्घाटन् गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकाृलस मदुरोले गरेका थिए । उद्घाटनपछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभलाई सदस्य मुलुकका सहभागी प्रतिनिधिमण्डलका अध्यक्षहरुले सर्वसम्मतिका आधारमा आउँदो ३ वर्षका लागि नयाँ अध्यक्ष चुनेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले पनि उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । उनले असंलग्न अभियानलाई आधुनिकीकरणको आवाज बन्न तथा अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा प्रवद्र्धन गर्न आग्रह गरे ।
सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । – मनोज कार्की/रासस