
हेटौंडा – प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरू भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताएका छन् ।
सामाजिक विकास मन्त्रालयको ५ करोड रुपैयाँ लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको शुक्रवार अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन दिए ।
हेटौंडाको गौरीटार रंगशाला हाताभित्र निर्माणाधीन मैदानको अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले २०७६ सालभित्रै अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान पाउने उल्लेख गरे । मैदानको निर्माणपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने हुँदा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकाससमेत हुने हुँदा रंगशाला तथा यसभित्रका संरचना निर्माण हुँदा स्थानीयले समेत चासो दिनुपर्ने धारणा राखे ।
बाटो घाटो र पुल पुलेसोलाई मात्रै विकास देख्नु नहुने भन्दै मुख्यमन्त्री पौडेलले देशको विकासका लागि स्तरीय रंगशालासमेत आवश्यक पर्ने धारणा राखे । ‘यस मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने हो भने बाटो घाटो मात्र हैन, देशको मुहार नै फेर्न सक्छौं,’ उनले भने ।
अवलोकनमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले निर्माणकार्यको अवस्थाको बारेमा जानकारी गराए । अवलोकनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागिता रहेको थियो ।