२३ जेठ २०८३, शनिबार

कास्की-२ मा दुई महिला उम्मेदवार भिड्ने पक्का

कात्तिक ८, २०७६
कास्की-२ मा दुई महिला उम्मेदवार भिड्ने पक्का

काठमाडौं–मंसिर १४ गते उपनिर्वाचन अन्तरगत कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेकपाले विद्या भट्टराइलाई उठाउने भएको छ । नेकपा कास्कीले भट्टराईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

२०७५ फागुनमा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा कास्की क्षेत्र नम्बर २ का नेकपा सांसद एवं तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । नेकपाले स्वर्गीय अधिकारीकी पत्नीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

कास्की क्षेत्र नम्बर २ नेकपाको प्रभाव भएको क्षेत्र मानिन्छ । स्वर्गीय अधिकारीले सोही क्षेत्रबाट लगातार तीनवटा निर्वाचन जितेका थिए । नेकपाले सो क्षेत्रमा आफ्नो जीत सुनिश्चित भएको दावी गरेको छ । 

उम्मेदवार बन्ने भएपछि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्यापनरत विद्याले राजीनामा दिनु पर्नेछ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार सिफारिशस गर्न सकेको छैन । उम्मेदवार छान्न बिहीवार बसेको कांग्रेस बैठक अनिर्णित भएको थियो । कांग्रेसले कास्की २ मा केन्द्रीय सदस्य धनराज गुरुङलाई उठाउने समेत चर्चा छ । 
नेपालमा बैकल्पिक राजनीतिको वकालत गरेको साझा पार्टीले कास्की २ मा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

शहरी क्षेत्रका मतदातालाई प्रभावित गर्न सकिने विश्लेषण सहित साझाले कास्कीको पोखरामा केन्द्रीय समितिको बैठक बसाएरै उम्मेदवारी घोषणा गरेको हो । नेपाली कांग्रेसमा आवद्ध केसी साझाको उम्मेदवार बन्ने सुनिश्चितता पछि केही समय पहिले मात्र साझामा आवद्ध भएकी थिइन । 

२०७४ मंसिर २१ मा भएको निर्वाचनपछि नेकपा सरकारको कामको मूल्याङन हुने ‘मिनी जनमत संग्रह’को रुपमा उपनिर्वाचनलाई हेरिएको छ । 

मंसिर १४ गते हुने निर्वाचनका लागि कात्तिक २१ गते उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । 
 

salt training

कमेन्ट गर्नुहोस्