११ साउन २०८३, सोमबार

धर्म र संस्कृति बचाउन सबैको योगदान आवश्यक : मन्त्री पण्डित

कात्तिक ९, २०७६
धर्म र संस्कृति बचाउन सबैको योगदान आवश्यक : मन्त्री पण्डित

विराटनगर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको शनिवार शिलान्यास गर्दै उनले संस्कृति र धर्म हाम्रो परम्परा हो, यसको जगेर्नाबाट नै समाजलाई एकतामा बाँध्न सकिने कुरामा जोड दिए ।

उनले नवनिर्माण हुने बहुतले सामुदायिक भवनको गुणस्तरीयतामा कमी आउन दिन हुँदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने चर्चा गरे । उनले स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तीव्रता दिन आग्रह गर्दै संघीय सरकारले आवश्यक थप बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

मन्त्री पण्डितले स्थानीय जनताका सहयोगले निर्माण हुन भवनबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक कार्यमा सहयोग गर्न ३ तहको सरकारको सहयोग रहने बताउँदै समाजको विकासका लागि सबैको साझेदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिका बनाउने कार्यमा सबैको साझेदारीबाट नै अबको केही महीनाभित्र सार्थक परिणाम आउने चर्चा गरे । सांसदद्वय अमनलाल मोदी र खेम नेपाली, प्रदेशसभा सदस्य सावित्री रेग्मी, समाजसेवी पंकज बर्मा, बाबुराम कार्की लगायतले जनघनत्व वृद्धिसँगै सबै क्षेत्रमा सामाजिक कार्यका लागि सामुदायिक भवन निर्माण गर्नुपर्ने बताए ।

समाजसेवी पंकज बर्माले २ लाख ५१ हजार र भवन निर्माण समितिका संयोजक धीरेन्द्र कर्णले सामुदायिक भवन निर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने जानकारी दिए । विराटनगर–२ स्थित २ कठ्ठा जग्गामा निर्माण गरिने दुईतले मन्दिरमा २ सभाहलसहित ५ वटा कोठा रहनेछन् । २ वर्षभित्र मन्दिर एवं सामुदायिक भवन निर्माण सम्पन्न गर्नका लागि २ करोड रुपैयाँ रकम लाग्ने अनुमान रहेको छ ।

संघीय सरकारको तराई–मधेश समृद्धिअन्तर्गत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत हाल २५ लाख रुपैयाँ र प्रदेश सरकारले ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्