
बैतडी – मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुंगो लगाएको छ ।
सम्बन्धित पालिका कमिटीको सिफारिसअनुसार दोगडाकेदार–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ मा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।
नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमितिको बैठकले दुबै उम्मेदवारको नाम स्वीकृत गरेको हो । बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका–४ मा पनि उम्मेदवारको टुंगो लगाउने जनाएको छ ।
नेकपाले २ वटा वडामा उम्मेदवारको टुंगो लगाएपनि अन्य दलहरूले भने हालसम्म उम्मेदवारी टुंग्याउन सकेका छैनन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल पनि बढ्दै गएको छ ।
सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।