काठमाडौं, २३ चैत– दलीय चुनाव चिह्न नपाइने भए पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आगामी स्थानीय चुनावलाई संगठन विस्तारका लागि उपयोग गर्ने भएको छ ।
काठमडौंमा चैत १५ र १६ गते चलेको नयाँ शक्तिको संघीय परिषद बैठकले पारित गरेको ‘निर्वाचनको तयारी सम्बन्धी कार्ययोजना’मा संगठन विस्तार र पार्टी निर्माणका लागि चुनावलाई उपयोग गर्ने रणनीति लिइएको छ ।
यस्तै चुनाव जित्न सकिने क्षेत्रहरुलाई विशेष महत्व दिने पनि नयाँ शक्तिको रणनीति छ । नयाँ शक्तिले संविधानप्रति असन्तुष्ट रहेका पक्षलाई समेट्ने गरी चुनावी एजेण्डा तय गर्ने पनि रणनीति लिएको छ ।
यसबाट तीन वटै (स्थानीय, प्रदेश र संघीय) तहको निर्वाचनमा बहुमत हासिल गर्न सकिने नयाँ शक्तिको आकल छ । ‘आगामी दिनमा हुन गइरहेका स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरुमा प्रतिस्पर्धा गरी मुख्य राजनीतिक दलहरुको सूचीमा आफूलाई स्थापित गर्नु नै हाम्रो उद्देश्य हो,’ नयाँ शक्तिको चुनावी कार्ययोजनामा उल्लेख छ ।