
मुस्ताङ – कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई सडकले जोड्न लागेको हो ।
सडक निर्माणका लागि बाग्लुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी चालू आर्थिक वर्ष २०७६/७७ मा २ करोड रुपैयाँ विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
‘योजना कार्यान्वयनका लागि हामीसहित प्राविधिकहरूको टोलीले स्थलगत अध्ययन गरिसकेका छौं,’ सांसद तुलाचनले भने, ‘यसै आर्थिक वर्षभित्र मुस्ताङ र डोल्पाको याखर्कसम्म सडक पुर्याउने योजनामा छौं ।’
बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक (मार्ग) खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालन भइरहेको छ ।
साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ ।
मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका–५ का वडाध्यक्ष रक्की गुरुङले बताए ।
‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका वासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न यो सडक छोटो हुन्छ,’ उनले भने, ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।’ मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको संख्यासमेत बढ्ने वडाध्यक्ष गुरुङले बताए ।