
गाईघाट – आइतवार राति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बीपी चोकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा १ करोड २० लाख बराबरको क्षति भएको छ ।
रातिको समयमा लक्ष्मी पूजा गरेर मैनबत्ती बालेर कपडा पसलमा छाडेको कारण मैनबत्तीबाट कोठमा आगो सल्केर कपडा पसलमा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएको पीडितले बताएका छन् ।
पीडितहरू खेम नेपाल, मोहनबहादुर कार्की र नारायणबहादुर पाण्डेको संयुक्त कपडा पसलमा राति ९ बजेतिर लक्ष्मीपूजा गरेर कोठाको एक छेउको लक्ष्मीको तस्वीर छेउमा अगरबत्ती र मैनबत्ती बालेर छाडेको र सोही कारण आगलागी भएको हुनसक्ने पीडित नारायण पाण्डेले बताए ।
जिल्ला प्रहरी उदयपुरका अनुसार रात्रिको समयमा पसल सञ्चालकले मैनबत्ती बालेर छाडेर गल्ती गरेकाले आगलागी भएको तर रातिको १ बजेको समयमा प्रहरीको गस्ती टोलीले सो पसलमा आगलागी भएको थाहा पाएपछि प्रहरीको टोलीले तत्कालै घटना स्थानमा आएर बिहानको ३ बजे आगो नियनत्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बूढामगरले बताए ।
पसलमा १ करोड २० लाख रुपैयाँ बराबरका विभिन्न आइटमका कपडा रहेको र सो सबै जलेर खरानी भएको पाइएको पनि पीडितले बताएका छन् तर प्रहरीले भने बढीमा ८० लाख रुपैयाँसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।