
काठमाडौं – सांस्कृतिक महत्त्वको छठ पर्व तथा नेपाल भ्रमण वर्ष २०२० का अवसरमा केन्द्र र प्रदेश नम्बर २ सरकारको आयोजनामा कात्तिक १४ गते जनकपुरमा शुभकामना आदानप्रदान तथा भ्रमण वर्ष प्रवद्र्धन कार्यक्रम तय भएको छ ।
छठका अवसरमा संघीय सरकार आयोजक भई पहिलो पटक प्रदेश नम्बर २ को जनकपुर र तिरहुतिया गाछीमा हुने कार्यक्रमबाट आपसी सद्भाव र हार्दिकता बढाई संस्कृति तथा पर्यटनको प्रवद्र्धन गर्न सघाउ पुग्ने छ ।
कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायका नामबाट निमन्त्रणा पठाइएको पर्यटनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।
कार्यक्रमको समन्वयका लागि मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठन गरेको समितिको कात्तिक ४ गते मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा धनुषामा सम्पन्न बैठकले सुरक्षा र तयारी सम्बन्धी निर्णय गरेको थियो ।