
काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यको उत्तरी भागमा भयानक डढेलो लागेपछि लगभग दुई लाख मानिस घर छोडेर भागेका छन् भने बिजुलीबत्ती बन्द हुँदा लगभग १० लाख मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसोमले व्यापक रूपमा हावा चलेका डढेलो झनै चर्किएको बताउँदै हावाको गति र सुक्खा इन्धनका कारण आगो झन् झन् बढेको बताए ।
सोनोमा काउन्टीमा किनसेड फायरले ५४ हजारभन्दा बढी एकड जमीन डढाइसकेको छ र लगभग १०० वटा संरचना भत्काएको छ । आइतवार अबेरसम्ममा आगो जम्मा ५ प्रतिशत मात्र नियन्त्रणमा लिइएको थियो ।
गत बुधवार लाग्न शुरू भएको डढेलो आँधी जस्तो हावाका कारण चर्किंदै गएको मौसमविद् ब्रान्डन मिलरले बताए ।
आइतवार राति हावाको गति कम भए पनि बलियो नै थियो । सोमवार बिहान शक्तिशाली हावा चलिरहने र बिस्तारै कमजोर बन्ने अर्का मौसमविद् माइकल गाइले बताए ।
सीएनएनबाट