
काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेर उत्तर-पश्चिम सिरियामा अमेरिकाको स्पेशल फोर्सको अपरेसनमार्फत खतरनाक आतंकवादीको मृत्यु भएको बताए ।
उनका अनुसार शनिवार केही हेलिकप्टरबाट अमेरिकी विशेष फोर्स एक अज्ञात ठाउँमा साँझ ५ बजे निस्केका थिए । त्यतिबेला व्हाइट हाउसको सिचुएसन रुममा राष्ट्रपति ट्रम्प केही नेताहरूसँग बसेर भिडियोमार्फत सबै दृश्य हेरिरहेका थिए । हेलिकप्टरहरू एक घण्टा १० मिनेटसम्म कारवाहीस्थल वरिपरी उडिरहेका थिए भने, अपरेसन २ घण्टासम्म चल्यो ।
सिरियाको इदलिब प्रान्तको बारिशा गाउँलाई अमेरिकी सेनाले निशाना बनाएका थिए । यो टर्कीको दक्षिणी सीमाबाट जम्मा ५ किलोमिटर टाढा छ ।
पत्रकार सम्मेलनमा ट्रम्पले आइएसएसका नेता बगदादीलाई पहिलादेखि नै अमेरिकाले पछ्याइरहेको बताए । ट्रम्पलाई थाहा थियो कि बगदादी जुन सुरुङमा बस्ने गर्थे, ज्यादातर सुरुङको निकास थिएन । यस मिसनका लागि स्पेसल फोर्सको ठूलो समूहलाई सामेल गरिएको थियो । अपरेसनका लागि आठ हेलिकप्टर, केही युद्धपोत र प्लेन पनि तयार गरिएका थिए ।
अमेरिकी हेलिकप्टरहरू टर्की हुँदै कारवाहीस्थलमा पुगेका थिए । जाने क्रममा हेलिकप्टर रुसनियन्त्रित सिरियाको भूभागमाथि पनि उडेका थिए । कारवाहीका लागि हेलिकप्टर जान लागेको रुसलाई थाहा थिएन फेरि पनि रुसले रोकेन । यसका लागि राष्ट्रपति ट्रम्पले रुसलाई धन्यवाद दिएका छन् ।
‘फ्लाइट एकदम खतरनाक क्षेत्रबाट निस्क्यो,’ राष्ट्रपति ट्रम्पले भने, ‘हामी आगोको चपेटामा त पर्दैनौं भनेर डर थियो । कहीँ रफ्तार छिटो गर्नुपर्थ्यो भने कहीँ ढिलो । जतिबेला हेलिकप्टरहरू बगदादी बसेको स्थाननजिक पुगे तब गोलीबारी शुरू भयो । हामीलाई त्यो स्थिति पार गर्न धेरै समय लागेन ।’
बारिशा गाउँको एक स्थानीयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै भने, ‘जमिनमा हेलिकप्टर उत्रिनुभन्दा ३० मिनेट पहिलासम्म हेलिकप्टरबाटै गोलीबारी भएको थियो । हेलिकप्टरले दुई घरमा मिसाइल फायर गरे ।’
जब अपरेसन शुरू भयो त्यतिबेला बगदादी भाग्न लागेको ट्रम्पले बताए । जुन सुरुङमा बगदादी भागेका थिए त्यसको कुनै निकास थिएन । भाग्दै गर्दा बगदादी रोइरहेका थिए ।
ट्रम्पले अपरेसन शुरू गर्नुभन्दा अगाडी ११ जना बच्चाहरूलाई बाहिर निकालेको बताए ।
‘जब बगदादी सुरुङको अन्तिमतिर पुगे, हाम्रा सेनाका कुकुरहरूले उसलाई लखेटिरहेका थिए,’ ट्रम्पले भने, ‘आखिरमा बगदादी ढले र आफ्नो शरीरमा लगाएको ज्याकेट बम विष्फोट गरे । विष्फोटबाट बगदादीसँगै उक्त सुरुङ पनि ध्वस्त भयो ।’