
काठमाडौँ - भारतको तामिलनाडुको त्रिची शहरको एक गाउँमा बनाइएको बोरवेल (पानी निकाल्नका लागि बनाइएको गहिरो र साँघुरो खाडल)मा खसेका २ वर्षे बालक सुजित विल्सनलाई जिउँदै निकाल्न उद्दारकर्ताहरू असफल भएका छन् ।
भारतीय सञ्चार एजेन्सी एएनआईका अनुसार सरकारी अधिकारी जे राधाकृष्णनले बालकको शरीर कुहिन शुरू भइसकेको बताएका छन् । यो एकदम दुर्भाग्यपूर्ण रहेको बताए ।
बालकलाई जिउँदै निकाल्ने प्रयासस्वरूप उत्तिकै गहिरो अर्को खाडल खनिएको थियो । डोरीबाट निकाल्ने प्रयास असफल भएपछि खाडल खनेर निकाल्न शुरू गरिएको थियो । तर त्यसका लागि धेरै समय लाग्यो ।
अहिले बालकको मृत शरीर निकालीसकिएको छ । सुजित शुक्रवार दिउँसो उक्त बोरवेलमा खसेका थिए । उनलाई बचाउन साँझ ६ बजेबाट प्रयास थालिएको थियो ।