
काठमाडौँ - उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताएका छन् ।
नेपाल संवत् ११४० को अवसरमा मंगलवार मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उनले सरकारले गरेका सकारात्मक कामलाई भ्रम फैलाउनेहरु सक्रिय रहेको बताए ।
उपप्रधानमन्त्री पोखरेलले भने, ‘सरकारले गरेको राम्रा कामलाई जस्ताको तस्तै जनताको माझ पुग्नुपर्छ, तर सरकारको विरोधका नाममा जनतालाई भ्रम फैलाएर विरोधीले विरोधको आगो सल्काउने कार्य गरिरहेका छन् र जनताले यसलाई बुझ्नुपर्छ ।’
सरकारले ल्याएको गुठी विधेयकको प्रसङ्ग कोट्याउदै उनले धर्म, परम्परा र संस्कृतिलाई जोगाउने गरी नै सरकारले गुठी विधेयक ल्याएको बताए ।
‘सरकार संस्कृति र साँस्कृतिक जोगाउन दृढतापूर्वक सरकार उभिन्छ, तर गुठीका नाममा तराईलगायत विभिन्न ठाउँमा सामन्ती, शोषण, उत्पीडिनका धेरै उदाहरण छन्, वर्षौदेखि सामन्तीले जनतालाई जोताहा बनाएका छन्,’ उनले भने, ‘मालिक बनाएका छन्, सरकारले ल्याएको गुठी विधेयक त्यस्ता सामन्तीका विरुद्ध हुन्, जनताको पक्षमा हुन, कला, संस्कृति र साँस्कृतिक पक्षमा हो, सरोकारवालासँग यस बारेमा पुनः छलफल गरेर सरकार अगाडि बढ्छ ।’
उनले नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग नेपालको पहिचान गराउने र ऐतिहासिक प्रसङ्ग भएकाले यसको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग वैज्ञानिकरुपमा पनि स्थापित गराउने प्रसङ्ग भएको चर्चा गर्दै उनले नेपाल संवत्सँग कही न कही गाँसिएर विक्रम प्रसङ्ग चल्ने भएकाले यसलाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको बताए ।
नेपाल संवत् प्रसङ्ग एउटा जातिको मात्र होइन र हुन पनि सक्दैन भन्दै उपप्रधानमन्त्री पोखरेलले यो एउटा जाति र समुदायको मात्रै नभई सबै जातिको सबै समुदायको प्रसङ्ग हो भनेर प्रत्येक नेपालीको जनजनमा पुर्याई यसलाई सबैले स्वीकार्ने प्रसङ्गको रुपमा लैजानुपर्ने आवश्यकता औँल्याए ।