काठमाडौं – विगत केही महिनादेखि एन्ड्रोइड फोनहरूमा एक नयाँ मालवेयरको आक्रमण हुन थालेको छ ।
प्रयोगकर्ताहरूका अनुसार, यो मालवेयर डिलिट गरेपनि फोनमा फेरि इन्स्टल हुन आउँछ । स्मार्टफोनको फ्याक्ट्री रिसेटपछि पछि पनि मालवेयर फोनमा फर्किरहेको छ । एक्सहेल्पर नामक उक्त मालवेयरले विगत ६ महिनामा ४५ हजारभन्दा बढी एन्ड्रोइड डिभाइसलाई प्रभावित पारेको छ ।
मालवेयरको आतंक बढ्दो छ । सीम्यानटेकको पछिल्लो प्रतिवेदनमा लेखिएअनुसार, एक्सहेल्परले दिनदिनै १३१ र हरेक महिना औसतमा २४ सय एन्ड्रोइड डिभाइसहरूलाई प्रभावित पारिरहेको छ । मालवेयरका कारण अमेरिका, रुस र भारतका प्रयोगकर्ता बढी मारमा परेका छन् ।
मालवेयरबाइट्सको प्रतिवेदनअनुसार, मालवेयरको सोर्स वेब रिडाइरेक्ट हो । त्यसले प्रयोगकर्ताहरूलाई एन्ड्रोइड याप होस्ट गर्ने वेबपेजमा पठाउँछ । त्यस्ता वेबसाइटहरूले प्रयोगकर्तालाई प्लेस्टोर बाहिरको अनधिकारिक एन्ड्रोइड याप कसरी साइडलोड गर्ने भनी सिकाउँछ । तिनै अनधिकारिक यापमा लुकेको कोडले एक्सहेल्पर ट्रोजन डाउनलोड गरिदिन्छ ।
यो ट्रोजन मालवेयरले प्रयोगकर्तालाई निकै ठूलो हानि त गरिरहेको छैन । मालवेयरबाइट्स र सीम्यानटेकका अनुसार, मालवेयरले पपअप विज्ञापन र नोटिफिकेसन स्प्याम मात्र देखाएको छ । एक्सहेल्पर समूहले याप इन्स्टल गराउँदा पाउने कमिसनमार्फत पैसा कमाइरहेका छन् ।
जुन माध्यमबाट यो याप भित्रिन्छ त्यसलाई हटाउँदा पनि एक्सहेल्पर डिभाइसबाट रिमुभ हुँदैन । यसले डिभाइसमा बसेर पपअप र नोटिफिकेसन स्प्याम देखाइरहन्छ ।
एजेन्सी