१० असार २०८३, बुधबार

हिमाल आरोहणमा निर्मलको कीर्तिमानी

कात्तिक १४, २०७६
हिमाल आरोहणमा निर्मलको कीर्तिमानी

काठमाडौं – ब्रिटिस आर्मीको जागिर, करिब ७ करोड रुपैयाँ बराबरको पेन्सन ।

यो सब माया मारेर हिमाल चढ्न तम्सनु चानचुने निर्णय थिएन । धेरैले यसलाई दुस्साहस ठाने, पागलपन भने । त्यही पागलपन अहिले विश्व कीर्तिमान बनेको छ ।

म्याग्दीका निर्मल पुर्जालाई यति बेला बधाईको ओइरो छ । उनले ८ हजार मिटर अग्ला सबै १४ हिमाल आरोहण गरेका हुन्, त्यो पनि जम्मा ६ महिना ६ दिनमा । उनको यो सफलता विश्वले नियालिरहेको छ । उनले चौधौं हिमालका रूपमा मंगलबार बिहान ८ बजेर ५८ मिनेट (स्थानीय समय) मा चीनको सिसापाङमा आरोहण गरेका हुन् । यो ८ हजार २७ मिटर अग्लो छ ।

सुरुमा उनले सात महिनाभित्र आरोहण पूरा गर्ने ठानेका थिए । योजना सुनाउँदा धेरैले पत्याएनन् । सहयोग अपेक्षा गरिएका संघसंस्था र व्यक्तिहरू तर्किए । तर उनी हच्किएनन् । २३ दिनअघि नै लक्ष्य पूरा गरिदिए । ‘आफ्नो मिसन पूरा गरेर औधी खुसी छु,’ निर्मलले बुधबार केरुङ नाका पार गर्दै कान्तिपुरसँग खुसी साटे, ‘मैले प्रकृतिसहित विश्वभरबाट साथसहयोग पाएँ, उहाँहरूप्रति धन्य छु ।’ उनले आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताए ।

निर्मलले दक्षिण कोरियाका किम च्याङ होको कीर्तिमान तोडेका हुन्, जुन उनले ७ वर्ष १० महिना ६ दिन लगाएर बनाएका थिए ।

सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्ध भएकैले यो सम्भव भएको निर्मलको बुझाइ छ । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्