१९ असार २०८३, शुक्रबार

हिजो दिनभर : प्रधानमन्त्री ओली अस्पताल भर्नासहित यस्ता छन् प्रमुख समाचार

कात्तिक १४, २०७६
हिजो दिनभर : प्रधानमन्त्री ओली अस्पताल भर्नासहित यस्ता छन् प्रमुख समाचार

प्रधानमन्त्रीको स्वास्थ्य 
    
    प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भइरहेको अस्पतालले जनाएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले बुधबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षणहरु पूरा भएपछि आजसम्ममा उनी निवास फर्कने जनाएको छ ।  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ‘आत्तिनुपर्ने कुरा केही छैन, सबै ढुक्क भए हुन्छ, उहाँलाई एकदम राम्रो छ, खाना खाइरहनुभएको छ, आराम गरिरहनुभएको छ’ बताए । यद्यपि ओलीको मिर्गौला डायलासिस गरिएको बताइएको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेका थिए । 

    प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी स्वदेश फर्किएका थिए । 

तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा बीभत्स रुपमा शव फेला परेको थियो । पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए ।   
काङ्ग्रेस पदाधिकारी बैठक
 
नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । 

जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

चार जना प्रहरी नियन्त्रणमा 

    कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो ।

    अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिई सोधपुछको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । 

गुह्येश्वरीमा छठको तयारी शुरु 

नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए ।  

गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उनले जानकारी दिए ।  त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् । पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुह्येश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् । 

नेवार समुदायले मनाए भाइटीका

नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल द्वितीयाको दोस्रो दिन नेवार समुदायले यो पर्व मनाएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा मङ्गलबार नै भाइटीका लगाउनुपर्ने उल्लेख छ । 

त्यसअनुसार नेवार समुदायका कतिपय मानिसले मङ्गलबार नै भाइटीका लगाएका थिए । 

श्रीमान्को हत्या आरोपमा पक्राउ

श्रीमान्को हत्याको आरोपमा एक महिलालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन् । दिलमायाले ५२ वर्षीय समला दरैको हत्या गरी भागेकी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले जानकारी प्राप्त गर्नासाथ दिलमायाको खोजतलासमा खटिएको प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका–७ गुनाना भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो । दरैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियामा ल्याई कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । 

बसमा आगजनी

अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । 

नेपालको समृद्धिमा चीन र भारतको साथ छः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् । 

महोत्तरीको पिपरामा नेकपा महोत्तरीले बुधबार आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताए ।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासबारे साझा चासो व्यक्त गरेको प्रचण्डको भनाइ थियो ।

नेपालको विकास र समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक भएको प्रचण्डको भनाइ छ । 

एक लाखमा कलम बिक्री

    प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट रु एक लाख १०५ मा बिक्री गरेको जनाएको छ । 

    राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज नगरपालिका–८ की रेखादेवी कर्णलाई उक्त कलम हस्तान्तरण गरियो । विगत ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा रहिआएकामा यो वर्ष सबैभन्दा बढी रकममा कर्णले कलम सकार गरेको चित्रगुप्त सेवा समितिका अध्यक्ष सतिशकुमार दत्तले जानकारी दिए ।  

    
कीर्तिमानी आरोहीको विमानस्थलमा भव्य स्वागत 

    नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महीनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।  सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर फर्किएका आरोही निर्मल पुर्जासहितका आरोहीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।

नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा पञ्चेबाजा र नेपाल प्रहरीको ब्यान्डबाजासहित स्वागत गरिएको थियो । कीर्तिमानी आरोही पुर्जाको आरोही टिमका मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङ आरोहण पूरा गरी बुधबारै अपराह्न विमानस्थल पुगेका थिए । 

आरोही पुर्जाले मङ्गलबार बिहान स्थानीय समयअनुसार ८ः५८ बजे चीनको सिसापाङ्माको शिखरमा पाइला टेक्दै आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण सात महीनामै पूरा गरी कीर्तिमान बनाउनुभएको पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । 


क्रिकेटको कप्तानमा ज्ञानेन्द्र 
राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका ज्ञानेन्द्र मल्ललाई निवर्तमान कप्तान पारस खड्काले बधाइ दिएका छन् । पूर्व उपकप्तान समेत रहेका ज्ञानेन्द्रलाई बुधबार नेपाल क्रिकेट संघले कप्तानको जिम्मेवारी दिएको थियो । 

पारसले टोलीको कप्तानीमा ज्ञानेन्द्र मल्ल सबैभन्दा योग्य खेलाडी भएको बताएका छन् । ‘सबैभन्दा योग्य व्यक्ति ज्ञानेन्द्र नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त भएकोमा बधाई छ’ उनले ट्वीटरमार्फत भनेका छन्,  ‘जसले धैर्यता, अनुशासन र प्रतिबद्धता सहित देशको सेवा गरिरहेको छ ।

पारसले ज्ञानेन्द्रको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई लिने पनि विश्वास लिएका छन् । पारसले गत असोज २८ गते कप्तान छाडेको घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्