
काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्धको मुद्दा दर्ताको तयारी गरेको हो ।
प्रहरीले अनुसन्धान सकेर तिहार अगाडि नै जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । महिलामाथि बलात्कार प्रयास आरोपमा गत असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले ३ पटक म्याद थपेर अनुसन्धान गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका एक अधिकारीले महराविरुद्धको मुद्दा बिहीवारै अदालतमा दर्ता हुने जानकारी दिए । ‘हामी मुद्दा तयार गर्दैछौं, आजै दर्ता गर्छाैं,’ ती अधिकारीले लोकान्तरसँग भने ।
महिलामाथि दुर्व्यवहारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।
जिल्ला अदालतबाट हिरासतमा राख्न लिएको तेस्रो पटकको म्याद शुक्रवार सकिँदैछ । स्वास्थ्यको कारण दर्शाउदै महरा अस्पतालमा बसेका छन् ।