
काठमाडौँ - सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएका रोजगारदाता र योगदानकर्ताहरूलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप एक महिनाको समयसीमा तोकेको छ ।
बिहीवार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले एक महिनाभित्र सम्पूर्ण रोजगारदाता कम्पनी र योगदानकर्तालाई सूचीकृत हुन आग्रह गरेको हो ।
'यो सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र सम्पूर्ण रोजगारदाता र योगदानकर्तालाई अनिवार्य रूपमा कोषमा आवद्ध हुन जानकारी गराइन्छ,' सूचनामा भनिएको छ, 'अन्यथा कानूनबमोजिम कारवाही हुनेछ ।'
सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई सो कोषमा आवद्ध हुने मौका दिएको थियो ।
हालसम्म कोषमा ८ हजार ८१८ जना रोजगारदाताहरु सूचिकृत भएका छन् भने सो कोषमा योगदान गर्नेहरुको संख्या १ लाख ९६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आएको थियो ।