
काठमाडौं – तीव्र गतिको मापन गर्नका लागि जिउँदो सुँगुरको उपयोग गरिएको खबर सार्वजनिक भएपछि पशुअधिकारवादीहरू आक्रोशित बनेका छन् ।
पन्ध्रवटा कलिला सुँगुरलाई उच्च गतिको परीक्षणमा सहभागी गराइएकोमा सातवटाको मृत्यु भएको छ ।
ती सुँगुरहरूलाई परीक्षणअघिका घन्टौंसम्म खानेकुरा र पानी दिइएको थिएन । उनीहरूलाई रक्तश्राव र आन्तरिक घाउ लगायतका चोटपटक लागेको थियो ।
अमेरिकामा पनि सुँगुर र अन्य जनावरलाई क्य्राश टेस्टका लागि उपयोग गर्ने गरिन्थ्यो तर सन् १९९० को दशकमा त्यसलाई अन्त्य गरियो ।
सुँगुरलाई कारको सीटमा बाँधेर क्य्राश टेस्ट गराइएको थियो ।
जर्मन पत्रिका बिल्डसँग कुरा गर्दै पशु अधिकारवादी संस्था पेटाकी प्रवक्ता एन्नी माइनार्टले यो क्रूर अभ्यासको आलोचना गरिन् ।
‘चीनमा तीव्र गतिको परीक्षणमा सुँगुर जस्ता बुद्धिमान् तथा संवेदनशील जनावरलाई उपयोग गर्नु क्रूर अभ्यास हो,’ उनले भनिन्, ‘यसले हाड भाँच्छ, भित्री चोटपटक लगाउँछ र भयानक मृत्यु दिन्छ ।’
अनुसन्धानकर्ताहरूले चाहिँ कलिला सुँगुरको शारीरिक बनोट मानिसको बच्चाको जस्तो हुने भन्दै आफ्नो परीक्षणलाई जायज ठहर्याउन खोजेका छन् ।
पशु परीक्षणको निर्देशनलाई आफूहरूले पालन गरेको र आफ्नो अध्ययनलाई एथिक्स कमिटीले अनुमति दिएको वैज्ञानिकहरूले बताए ।
एजेन्सी