काठमाडौं, २४ चैत- व्यवस्थापिका–संसद् सचिवालयमा रहेका २२ वटा सवारीसाधनलाई नेता तथा कर्मचारीहरूले व्यापक दुरुपयोग गरेको पाइएको छ, राजधानीमा खबर छ । सचिवालयमा पुलका रूपमा राखिएका २२ वटा सवारीसाधन नेता र कर्मचारीहरूलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो ।

संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागिसमेत प्रयोग गर्दै आएको पाइएको छ । यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन । सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन । संसद् सचिवालयभित्रै यसबारे व्यापक विरोध भएको छ । सरकारी सम्पत्ति यसरी दुरुपयोग भइरहँदा राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने हुँदा सचिवालयले यस्तो कार्यमा नियन्त्रण गर्नुपर्ने तल्लो तहका कर्मचारी बताउँछन् । मुलुकमा अर्को निर्वाचन आइरहेका बेला पुरानो निर्वाचनको धाँधली छानबिन गर्न गठित समितिका सभापतिलाई दिइएको गाडी सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले अहिलेसम्म छाडेका छैनन् । उनले बा१झ ८४८२ को स्कोरपियो जिप बिग्रिएपछि बा१झ ८४९५ नम्बरको अर्काे नयाँ स्कोरपियो जिप चढ्न थालेका छन् ।