२० असार २०८३, शनिबार

समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यक : मुख्यमन्त्री पोखरेल

कात्तिक १६, २०७६
समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यक : मुख्यमन्त्री पोखरेल
फाइल फोटो

पोखरा – प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवं आर्थिक रुपान्तरण आवश्यक रहेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसन कास्कीले शनिवार पोखरामा आयोजना गरेको ‘समृद्धि र यसका चुनौती’ विषयक विचार गोष्ठीमा उनले समाजमा सकारात्मक सोचको खाँचो रहेको औंल्याए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिए ।

मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले जनतामा सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

मुलुकको दिगो विकासका लागि साधारणतर्फ भन्दा पनि पूँजीगत खर्च बढी हुनुपर्ने र त्यसका लागि संघ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अगाडि रहेको धारणा राखे । मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले वातावरण तयार गरेर जनतालाई उत्पादनसँग जोड्न अपरिहार्य र उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्फ लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

संघीयतासँगै सिंहदरबारको अधिकार जनताको घरआँगनमा आएको उल्लेख गर्दै उनले ३ तहका सरकारको केही खर्च बढेको भए पनि जनताको खर्च भने घट्दै गएको बताए ।

नेकपा स्थायी कमिटी सदस्य एवं फाउन्डेसनका केन्द्रीय सदस्य सोमनाथ अधिकारी प्यासीले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीले अगाडि सारेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । पार्टीको विचार, सिद्धान्त र सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मुलुक र जनताका पक्षमा सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान अवस्थामा देखिएका चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । फाउन्डेसनको कास्की अध्यक्ष माधव बाँस्तोलाले फाउन्डेसनले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्