
काठमाडौं- विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार उनीहरूले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपीलाई थप कारवाहीका लागि आइतवार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरूले पीडितबाट २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख थापाले पीडितलाई लाओस र भारत पुर्याएर अलपत्र पारी उनीहरू फरार भएका थिए । रामेछापका नविनकुमार तामाङसमेत चार जनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरूलाई यही कात्तिक १५ गते हेटौंडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ ।