१० असार २०८३, बुधबार

हिजो दिनभर : सिन्धुपाल्चोक र म्याग्दीमा बस दुर्घटना, २१ को मृत्यु, प्रदेश प्रमुख पदमुक्त

कात्तिक १८, २०७६
हिजो दिनभर : सिन्धुपाल्चोक र म्याग्दीमा बस दुर्घटना, २१ को मृत्यु, प्रदेश प्रमुख पदमुक्त

प्रदेश प्रमुख हटाइए

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश प्रमुख हटाइएका विषयमा कोही कसैले असन्तुष्टि जनाउनुपर्ने कारण नरहेको बताएका छन् ।  प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले असन्तुष्टि जनाएको छ नी ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “संवैधानिक व्यवस्थाअनुसार नै उहाँहरुलाई हटाइएको हो । कसैले असन्तुष्टी जनाउनु पर्दैन ।”

    रिक्त रहेका प्रदेश प्रमुख छिट्टै नियुक्त हुनेसमेत उनले विश्वास व्यक्त गरे । “ढिलो गर्ने कुरा छैन, सरकारले छिट्टै निर्णय गर्ला र राष्ट्रपतिले नियुक्त गर्नुहुन्छ ।” संवैधानिकरुपमा नै प्रदेश प्रमुखहरु हटेकाले त्यसमा कोही कसैको असन्तुष्टि रहनुपर्ने कारण नभएको उनको भनाइ छ । सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् । 

मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने

    आइतबार साँझका लागि तय भएको मन्त्रिपरिषद्को बैठक सोमबार बिहान ११ः०० बजे बस्ने गरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तय भएको बैठक अन्तिम समयमा स्थगन भएको हो । आइतबार बिहान बसेको बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला  र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । नेकपा सचिवालयको बैठक लम्बिएकालगायतका कारण बैठक सोमबारका लागि सारिएको हो ।

महराको छुनछेक बहस ‘हेर्दाहेर्दै’ सोमबारलाई 
 
काठमाडाँै जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको छ । 
 
      जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आइतबारदेखि शुरु  भए पनि बहस नसकिएका कारण हेर्दाहेर्र्दैमा सोमबारका लागि तय भएको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गर्नुभयो । सरकारी पक्षबाट चार जनाले बहस गरेका थिए । 
 
      निर्वतमान सभामुख महराको अदालती बयान शुक्रबार र आइतबारका लागि थुनछेक बहस हुने तय भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको हो । महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।      
  
    संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बहस सकिएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने आदेश हुनेछ ।

उपनिर्वाचनको सुरक्षा व्यवस्था 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह) का सन्दर्भमा आइतबार आयोगमा सम्पन्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्देशन दिएका हुन् । 

बैठकमा निर्वाचन आयुक्त एवं उच्चस्तरीय सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनमा सुरक्षा निकायबीच समन्वय कायम गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आयोगका सहसचिवको नेतृत्वमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने जानकारी दिँदै केन्द्रमा चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने जानकारी दिए । उनले एकीकृत सुरक्षा योजना पनि कार्यान्वयन हुने बताए । 

बैठकमा  निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देवकुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति थियो । 

दुर्घटनामा २१ को मृत्यु
 अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जसमध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो ।

बसमा ६० बढी यात्रु सवार रहेका बताइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

यता  म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।  

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन् । दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।  

कैलालीमा पनि दुर्घटना
    कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आइतबार साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे१ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से३प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए । 

    बसले मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी–१० पहलमानपुरका रामबहादुर चौधरीको घटनास्थलमै र सोही ठाउँका मानबहादुर चौधरीको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मेडिकल काउन्सिलको अध्यक्षमा डा कोइराला नियुक्त

    सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रा डा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रा डा कोइराला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक हुन् ।

त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयबाट जनाइए पनि यसको आधिकारिक जानकारी दिइएको छैन ।

नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी प्राडा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको पूर्वअध्यक्ष हुन् । 

कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित 

    आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि  कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सो कार्यालयको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार  थपलियाले उद्घाटन गर्दै मतदाता नामावली, निर्वाचन सामाग्री, मतपत्रको डिजाइन, मतदाता शिक्षा, विभिन्न समिति गठन,  आचारसंहिता निर्देशिकालगायत सम्पूर्ण निर्वाचनका कार्य अगाडि बढिरहेको बताए । 
    
    राप्रपाबाट भण्डारी उम्मेदवार हुने

    यसैबीच कास्की –२ को उपनिर्वाचनमा राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । 

    रिक्त स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख र उपप्रम्ुखका उम्मेदवर छनोट गर्न सम्बन्धित प्रदेश कार्यसमिति र  नगरपालिकाका वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षको उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
    
    
कास्की–२ मा नेकपाबाट भट्टराई
    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेकोे नेकपा सचिवालय बैठकले  भट्टराईसँगै प्रदेशसभाका उम्मेदवार बनाउने निर्णय गरेको हो । 

    बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । 

मेडिकल कलेजले बढी शुल्क लिए ठगी मुद्दा चलाइने
    
तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध किटानी उजुरी परेमा ठगी मुद्दामा कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तदारुकता देखाएको छ ।

    विभिन्न मेडिकल कलेजले बढी शुल्क लिएको आवाज उठिरहेको र कतिपय मेडिकल कलेजले आफूखुशी शुल्क लिन नपाए एमबिबिएसको भर्ना नलिने धम्की दिइरहेका बेला मन्त्रालयले र आयोगले आइतबार सम्बन्धित पीडित पक्षलाई किटानी उजुरी दिन आव्हान गरेको हो । चर्काे शुल्क लिइएको विरोधमा चितवन, पोखरा, भैरहवालगायत क्षेत्रमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

    चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीको शुल्क सम्बन्धमा सरकारले गरेको शिक्षण शुल्कको रकममा नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७५ को मुद्रास्फीतिदर ४.५ प्रतिशतलाई आधार मानी विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँगको परामर्शपछि आयोगको यही कात्तिक १ गतेको निर्णयबमोजिम शैक्षिकसत्र २०७६÷७७ का लागि एमबिबिएसतर्फ काठमाडौँ उपत्यकाभित्रका लागि रु ४० लाख २३  हजार २५० र उपत्यका बाहिरका लागि रु ४४ लाख ३६ हजार २५ एवं बिडिएसतर्फ रु २० लाख १९ हजार ५८० कायम गरिएको छ । 

    नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असोज २८ को निर्णयबाट शैक्षिकसत्र २०७५÷०७६ का लागि एमबिबिएसतर्फ काठमाडौँ उपत्यकाभित्रका लागि रु ३८ लाख ५० हजार र उपत्यका बाहिरका लागि रु ४२ लाख ४५ हजार एवं बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६१२ कायम  गरिएको थियो । 

    सो निर्णयविपरीत कुनै पनि कलेजले विद्यार्थीसँग बढी शुल्क लिएमा विद्यार्थी वा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइ सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठानमा सोको जानकारी गराउन तथा सो उजुरी उपर जिल्ला प्रशासन कार्यालयले प्रचलित कानूनबमोजिम छानविन गरी कारवाही गर्नसमेत उक्त निर्णयमा उल्लेख भएको थियो । 

ठगी आरोपमा दम्पती पक्राउ
     
विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने  विजय थिङ  र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 

    उनका अनुसार उनीहरुले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपिलाई थप कारवाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।  

    गुठीयारको भावनानुसार गुठी विधेयक 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठियारको भावनालाई सम्बोधन गर्ने गरी गुठीका जग्गा जमीन संरक्षण गर्न चाँडै गुठी विधेयक पुनः ल्याइने बताएकी छिन् । 

    गुठी संस्थानको ५६औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले परिवर्तित समयअनुसार गुठीसम्बन्धी कानुन निर्माण गर्ने संवैधानिक व्यवस्था भएकाले विज्ञ, गुठियार, सरोकार पक्षलगायतका सुझाव लिएर विधेयक ल्याइने बताए । 

    गुठियारको ब्यानरमा व्यक्तिगत स्वार्थ पूर्ति भइरहेकाले जग्गाको अतिक्रमण बढ्दै गएको उनको भनाइ थियो । उनले त्यसलाई रोक्न विधेयकको आवश्यकता रहेकामा जोड दिँदै गुठीको प्रशासनमा सुशासन कायम गरी गुठीका सबै सम्पत्तिको वैज्ञानिक अभिलेख राख्न, अतिक्रमित भएका जमीनलाई फिर्ता गराउन उक्त विधेयक महत्वपूर्ण हुने विचार व्यक्त गरे । 

    सोही मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले संस्थाले उद्देश्यअनुसार कार्य गर्न नसकेको उल्लेख गर्दै स्थापनाको ५५ वर्षसम्म पनि आफ्नो सम्पत्तिको लगत सङ्कलन गर्न नसकेकाले गुठीका सम्पत्ति संरक्षण गर्न कठिन भएको बताए ।  संस्थानका अध्यक्ष नारायण चौधरीले आव २०७६÷०७७ मा करीब रु ६७ करोड ५७ लाख आय तथा रु ५८ करोड ८२ लाख खर्चको प्रतिवेदन पेश गरेका थिए ।  

साताको पहिलो दिन नै नेप्से घट्यो  

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.८८ विन्दुले घटेर एक हजार १३९.२९ विन्दुमा झरेको छ । 

    यस्तै सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २५०.४६ विन्दुमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीका सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मूल्यमा खरीद बिक्री भएका छन् । 

    स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषकोबाहेक अरु सबै उपसमूहका शेयर ओरालो लागेका छन् । सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ६.७८, होटल ४.२२, विकास बैंक १.५८, जलविद्युत् २.४९, वित्त २.५, निर्जीवन बीमा ३२.२५, उत्पादन ३७.३५, अन्य ५.२९, लघुवित्त ३ र जीवन बीमा २६.०७ विन्दुले घटेको छ । 

    कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु एक करोड ५२ लाख ४५ हजार ८९३ मूल्यमा कारोवार भयो । यस्तै देवः विकास बैंक रु एक करोड ४३ लाख ७८ हजार ८००, मेगा बैंक रु ७९ लाख ४९ हजार ४५२, नवील बैंक रु ६० लाख ७२ हजार १०७ र नेपाल बैंक रु ५१ लाख ८२ हजार ६४७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

salt training

कमेन्ट गर्नुहोस्