काठमाडौं – स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले थुप्रै प्रशंसक कमाएकी छन् र त्यसमा हलिउड अभिनेता लियोनार्दो डीकाप्रियो पनि थपिएका छन् ।
डीकाप्रियोले शुक्रवार थनबर्गसँगको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
‘मानव इतिहासमा महत्त्वपूर्ण क्षणहरूमा आवाजहरू उचालिने तथा परिवर्तनकारी तरिकाले उठाइने घटना कहिलेकाहीँ हुने गर्छन् । ग्रेटा थनबर्ग हाम्रो समयकी नेत्री बनेकी छन्,’ डिकाप्रियोले क्याप्सनमा लेखे ।
थनबर्ग जस्तै डीकाप्रियो पनि वातावरण अभियन्ता हुन् । उनले खोलेको डीकाप्रियो फाउन्डेसनले संसारभरि जलवायु लचकता निर्माण गर्न, जोखिममा रहेका वन्यजन्तुको संरक्षण गर्न तथा संकटमा परेका पर्यावरण प्रणाली र समुदायलाई सन्तुलनमा ल्याउने परियोजनालाई सहयोग गर्छ ।
‘ग्रेटाको सन्देश विश्व नेताहरूका लागि जागरणको आह्वान हो । निष्क्रियताको समय अब बितिसकेको छ भन्ने सन्देश उनले दिएकी छन्,’ डिकाप्रियोले भने ।
थनबर्गले स्पेनमा हुन लागेको जलवायु सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।
अघिल्लो साता थनबर्गलाई नोर्डिक परिषद्को सन् २०१९ को वातावरण पुरस्कार दिने घोषणा गरिएको थियो तर उनले जलवायु अभियानलाई पुरस्कार दरकार छैन बरू राजनीतिकर्मी र आम मानिसले सुन्नु आवश्यक छ भनी पुरस्कार अस्वीकार गरेकी थिइन् ।
सीएनएनबाट